काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला र मधुमेहलगायतका रोग भएका व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न सुझाव दिएको छ ।
क्याफिनयुक्त इनर्जी ड्रिंक्सले स्वास्थ्यमा पार्न सक्ने प्रभावप्रति सचेत गराउँदै विभागले क्याफिनप्रति संवेदनशील व्यक्तिलाई समेत यस्ता पेय पदार्थ सेवन नगर्न आग्रह गरेको हो ।
विभागले स्वस्थ वयस्कले समेत चिया, कफी, चकलेट र इनर्जी ड्रिंक्सलगायत सबै स्रोतबाट दैनिक प्राप्त गर्ने क्याफिनको कुल मात्रा ४०० मिलिग्रामभन्दा बढी हुन नहुने जनाएको छ ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरण र अमेरिकी खाद्य तथा औषधि प्रशासनलगायत अन्तर्राष्ट्रिय संस्थाका सन्दर्भ दिँदै विभागले क्याफिन सेवनमा सावधानी अपनाउन आग्रह गरेको हो ।
क्याफिन इनर्जी ड्रिंक्समा मात्र नभई चिया, कफी, चकलेट तथा अन्य पेय पदार्थमा समेत पाइने भएकाले शरीरमा पुग्ने यसको कुल मात्रामा ध्यान दिनुपर्ने विभागको भनाइ छ ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै विभागले मानव स्वास्थ्यको सुरक्षा र उपभोक्ताको हित संरक्षणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
विभागका अनुसार इनर्जी ड्रिंक्स अल्कोहलरहित क्याफिनयुक्त पेय पदार्थ हुन् । यस्ता पेयमा क्याफिन, ग्वाराना, ग्लुकुरोनोल्याक्टोन, टाउरिन, इनोसिटोल, कार्निटिन, बी भिटामिन, चिनी र पानीलगायतका सामग्री प्रयोग गरिन्छन् ।
नेपालमा हाल १७ वटा उद्योगले विभिन्न सरकारी निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेको विभागले जनाएको छ ।
ती उद्योगका उत्पादनमा प्रयोग गरिएको क्याफिनको मात्रा लेबलमा उल्लेखित विवरण र प्रयोगशाला परीक्षण प्रतिवेदनका आधारमा मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभित्र रहेको पाइएको विभागको भनाइ छ ।
विभागको पत्रमा इनर्जी ड्रिंक्समा प्रतिक्यान १०० मिलिग्राम क्याफिन रहेको उल्लेख छ ।
विभागले इनर्जी ड्रिंक्स सेवन गर्दा उत्पादनको लेबलमा उल्लेख गरिएका विवरण र चेतावनी अनिवार्य रूपमा पढ्न आग्रह गरेको छ । क्याफिनको प्रभाव व्यक्तिको स्वास्थ्य अवस्था र संवेदनशीलताअनुसार फरक पर्न सक्ने भएकाले सेवनअघि सावधानी अपनाउनुपर्ने विभागको सुझाव छ ।
त्यस्तै, इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिले पनि लेबलमा उल्लेख गरिएका चेतावनी र सेवनसम्बन्धी निर्देशन पालना गर्नुपर्ने जनाएको छ ।
विभागले इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध र महलगायतका पेय पदार्थसँग मिसाएर सेवन नगर्नसमेत आग्रह गरेको छ । यस्ता पेयलाई पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न पनि सचेत गराएको छ ।
इनर्जी ड्रिंक्समा क्याफिनसँगै चिनी तथा अन्य विभिन्न सामग्री हुने भएकाले यसको प्रकृति र आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर मात्र सेवन गर्नुपर्ने विभागको भनाइ छ ।
विभागले इनर्जी ड्रिंक्सको उत्पादन तथा बिक्रीवितरणमा संलग्न उद्योगी तथा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिँदै खाद्य स्वच्छता र गुणस्तर कायम गर्न आग्रह गरेको छ ।
वैज्ञानिक तथ्य, अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासका आधारमा खाद्य स्वच्छता कायम गर्ने काम भइरहेको जनाउँदै विभागले कानुनविपरीत कार्य गर्ने उद्योग तथा व्यवसायीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत उत्पादन तथा बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।