नेपाल–चीन व्यापार सहजीकरणमा जोड, सीमा नाका सुधारदेखि लगानी विस्तारसम्म छलफल

काठमाडौं । नेपाल र चीनबीच सीमा नाकाको पूर्वाधार सुधार, भन्सार जाँचपास प्रक्रियालाई छरितो बनाउने तथा सीमापार व्यापार र ढुवानीलाई सहज बनाउने विषयमा छलफल भएको छ । दुवै देशबीच आर्थिक सहकार्य र लगानीका अवसर विस्तार गर्ने विषयले पनि भेटवार्तामा प्राथमिकता पाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहबीच बुधबार भएको भेटवार्तामा द्विपक्षीय व्यापारिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको हो ।

भेटमा सीमा नाकामा भन्सार जाँचपास प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने, नाका पूर्वाधार निर्माण तथा सुधार गर्ने र सीमापार वस्तु ढुवानीमा सहजीकरण गर्ने विषयमा छलफल भएको चिनियाँ दूतावासले जनाएको छ ।

त्यसैगरी, नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहकार्यलाई थप विस्तार गर्ने, लगानीका सम्भावना पहिचान गर्ने र व्यापार प्रवर्द्धनका व्यावहारिक अवसर उपयोग गर्ने विषयमा पनि दुवै पक्षबीच छलफल भएको छ ।

दुवै पक्षले आपसी सञ्चार र समन्वयलाई सुदृढ बनाउँदै सीमा नाकाबीचको अन्तरआबद्धता बढाउने तथा द्विपक्षीय व्यापार र लगानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सीमा नाकाको पूर्वाधार विकास र व्यापार सहजीकरणमा सहकार्य बढाउन सके वस्तुको आवतजावत सहज हुनुका साथै दुई देशबीचको आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चिनियाँ दूतावासका अनुसार यस्ता सहकार्यले नेपाल र चीनको आर्थिक विकास, सीमापार व्यापार प्रवर्द्धन तथा पारस्परिक लाभमा आधारित आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । 

Share News