काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
यादवले सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै घुस मागेको आरोप छ ।
अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा यादवले विद्युत् लाइन जडानको काममा अनावश्यक ढिलासुस्ती गरेको खुलेको अख्तियारले जनाएको छ ।
उनले सेवाग्राहीलाई दुःख र हैरानी दिएको पनि अनुसन्धानबाट पुष्टि भएको अख्तियारको भनाइ छ ।
विद्युत् लाइन जडान तथा त्यसमा सहजीकरण गरिदिएबापत यादवले ५० हजार रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार मुद्दा दायर गरेको हो ।
अख्तियारले ५० हजार रुपैयाँ बिगो कायम गरेको छ ।
यादवलाई ऐनबमोजिम कैद र बिगोबराबर जरिवाना सजाय माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।