कांग्रेस महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक, आजै उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा सहभागी हुने ७ हजार ११४ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ । निर्वाचन समितिले दाबी–विरोध तथा आवश्यक जाँचबुझको प्रक्रिया पूरा गरेपछि मतदाताको अन्तिम सूची प्रकाशन गरेको हो ।

कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले निर्वाचनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको जानकारी दिए । अन्तिम सूचीअनुसार अब सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ११४ प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचन समितिका अनुसार मंगलबार बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध गर्ने समय तोकिएको थियो । त्यसपछि बिहान ९ः३० देखि १०ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको थियो ।

त्यसपछि निर्वाचन प्रक्रिया थप निर्णायक चरणमा प्रवेश गर्नेछ । निर्वाचन समितिले उम्मेदवार मनोनयन दर्ता फारम वितरण तथा दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि यसपटक संशोधित विधानअनुसार निर्वाचन हुँदैछ । सोमबार सम्पन्न बन्दसत्रले पार्टीको विधान संशोधन गर्दै २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरेको छ । सोही संशोधित संरचनाअनुसार नयाँ नेतृत्व चयन हुने निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिने नेताहरूले मंगलबार मनोनयन दर्ता गर्नेछन् । त्यससँगै कांग्रेसको नयाँ नेतृत्वका लागि लामो समयदेखि चल्दै आएको आन्तरिक प्रतिस्पर्धा औपचारिक निर्वाचन प्रक्रियामा प्रवेश गर्नेछ ।

प्रतिनिधिको व्यवस्थापनमा २०० भन्दा बढी स्वयंसेवक

यसैबीच कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको व्यवस्थापन तथा सहजीकरणका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिलाई कार्यक्रमस्थलमा आवतजावत, बैठक तथा निर्वाचन प्रक्रियामा सहजीकरण गर्न स्वयंसेवक परिचालन गरिएको हो ।

लामाका अनुसार बन्दसत्र सञ्चालन हुने स्थलदेखि निर्वाचन हुने स्थानसम्म स्वयंसेवक खटाइएको छ । प्रतिनिधिको चापलाई व्यवस्थापन गर्दै निर्वाचन प्रक्रिया सहज र व्यवस्थित बनाउन स्वयंसेवक परिचालन गरिएको उनले बताए ।

कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट करिब ७ हजार ५ सय प्रतिनिधि काठमाडौं आएको व्यवस्थापन समितिको दाबी छ । यद्यपि निर्वाचनमा सहभागी हुने प्रतिनिधिको अन्तिम सूचीमा भने ७ हजार ११४ जनाको नाम कायम भएको छ । 

Share News