१७ वर्षदेखि फरार लागुऔषध मुद्दाका दोषी पक्राउ

काठमाडौं । लागुऔषध मुद्दामा १७ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको खानीगाउँ गाविस–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–७ बस्दै आएका ३८ वर्षीय मनिल सिटौला रहेका छन् ।

प्रहरीका अनुसार पर्सा जिल्ला अदालतले २०६७ असार १ गते सिटौलालाई लागुऔषध मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तर, अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेकै अवस्थामा उनी फरार भएका थिए ।

सिटौला काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो । 

सोही क्रममा प्रहरी टोलीले उनलाई शुक्रबार (आज) काठमाडौं महानगरपालिका–११, बबरमहलबाट पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । 

अदालतको आदेशपछि सिटौलालाई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

Share News