काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखाबाट हुने काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
अख्तियारको टोलीले इन्जिनियर दिपा कार्की र रकम लिएर मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा इन्जिनियर दिपा कार्कीले आफ्नो पदको दुरुपयोग गरी अन्य प्रतिवादी आस्मा कार्की र आशिष पौडेलसँगको मिलेमतोमा घुस लिएको आयोगको दाबी छ ।
आयोगका अनुसार घर निर्माणसँग सम्बन्धित संरचनात्मक विश्लेषण, नक्सा पास, घर निर्माण सिफारिस, अस्थायी इजाजत तथा घर निर्माण सम्पन्नलगायतका काममा सहजीकरण गरिदिने भन्दै उनीहरूले विभिन्न चरणमा घुस लिएको पुष्टि भएको छ ।
आयोगले दिपा कार्कीविरुद्ध २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ ।
त्यस्तै, आस्मा कार्कीलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा प्रतिवादी बनाइएको छ । उनीविरुद्ध पनि २ लाख ८ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।
यसैगरी, आशिष पौडेललाई पनि घुस लिने–दिने कार्यमा मतियारको भूमिका खेलेको आरोपमा प्रतिवादी बनाइएको छ । उनीविरुद्ध १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ ।
आयोगले तीनै जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।