कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ । 

पार्टीको गौरवमय इतिहास, जारी महाधिवेशन र समसामयिक राजनीतिक विषयवस्तुलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने १५ जना स्रष्टालाई कुल २ लाख २० हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक जोकोहीले कांग्रेसको इतिहास, महाधिवेशन तथा समसामयिक सन्दर्भ समेटेर मौलिक तथा सिर्जनात्मक भिडियो निर्माण गरी फेसबुक, टिकटक र इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्महरूमा पोस्ट गर्नुपर्ने नेविसंघले जनाएको छ ।

नेविसंघका अनुसार प्रतिस्पर्धाबाट १५ जना विजेता छनोट गरिनेछ । जसमा  प्रथम पुरस्कार रु. ५० हजार रुपैया, दोस्रो पुरस्कार ३० हजार रुपैया, तेस्रो पुरस्कार २० हजार र उत्कृष्ट १२ जनालाई १० हजार रुपैया सान्त्वना पुरस्कार दिइने छ । 

सहभागीहरूले एकल, समूह वा परिवारसँग मिलेर नृत्य, लिप्सिङ्क, अभिनय, कथावाचन  वा अन्य कुनै पनि रचनात्मक शैलीमा भिडियो बनाउन सक्नेछन् । 

विजेताको मूल्यांकन भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट, सेयरका आधारमा गरिने नेविसंघले जनाएको छ । कृत्रिम रूपमा बुस्ट  गरिएका भिडियोहरूलाई भने प्रतिस्पर्धामा समावेश नगरिने नेविसंघकी अध्यक्ष करुणा कटुवालले स्पष्ट पारेकी छन् । 

प्रतियोगितामा भाग लिन टिकटक, फेसबुक वा इन्स्टाग्राम रिल्स पोस्ट गर्दा नेपाली कांग्रेस पार्टीको आधिकारिक सामाजिक सञ्जाल खाता अनिवार्य रूपमा फलो र मेन्सन गरी तोकिएका ह्यासट्यागहरू प्रयोग गर्नुपर्ने सर्त राखिएको छ । 

महाधिवेशनलाई डिजिटल पुस्ता र युवाहरूसँग जोड्दै उत्साहजनक बनाउन यो रचनात्मक प्रतियोगिता उपयोगी हुने विश्वास लिएको अध्यक्ष कटुवालको भनाइ छ ।

Share News