नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा सामाजिक परिचालकविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा नियुक्ति लिँदा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

उक्त प्रमाणपत्र पेस गरी यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रहेको र सोही आधारमा ओहोदा, लाभ तथा सुविधा प्राप्त गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।

आयोगले यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको जनाएको छ ।

सोही आधारमा यादवलाई कैद तथा जरिवाना सजाय हुन मागदाबी गर्दै आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

Share News