काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायको नाम, पोशाक, सङ्केत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो नाम र उद्देश्य भएका संस्था दर्ता नगर्न तथा यस्ता संस्थाको विधान तत्काल संशोधन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयको स्थानीय प्रशासन शाखाले असोज ६ गते सचिवस्तरीय निर्णयका आधारमा सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै हालसम्म दर्ता भएका यस्ता संस्थाको विधान परिमार्जन भए–नभएको विवरण उपलब्ध गराउन पनि आग्रह गरेको हो ।
गृह मन्त्रालयले यसअघि जारी गरिएका परिपत्रको सन्दर्भ उल्लेख गर्दै नवीकरणका क्रममा सुरक्षा निकायसँग मिल्ने नाम, पोशाक, चिन्ह वा उद्देश्य रहेका संस्थाले विधान संशोधन गरेको भए त्यसको जानकारी पठाउन र संशोधन नगरेका संस्थालाई कानुनबमोजिम प्रक्रिया पूरा गरी यथाशीघ्र संशोधन गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो व्यवस्था राखेर दर्ता भएका संस्थाको विधान तत्काल प्रचलित कानुनअनुसार परिमार्जन गर्न र त्यसको जानकारी गृह मन्त्रालयलाई उपलब्ध गराउन पनि भनेको छ ।
साथै, अब उप्रान्त संस्था दर्ता गर्दा गृह मन्त्रालयबाट जारी भएका परिपत्रअनुसार सुरक्षा निकायसँग मिल्ने नाम, उद्देश्य वा पहिचान भएका कुनै पनि संस्था दर्ता नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालयलाई स्पष्ट निर्देशन दिइएको छ ।