कर्जाको किस्ता तिर्न कोषको ताकेता, ०.२५ प्रतिशत ब्याज छुट दिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले घर तथा जग्गा धितोमा आधारित विभिन्न सापटीको किस्ता नियमित नगरेका सञ्चयकर्तालाई असोज मसान्तभित्र बक्यौता किस्ता बुझाउन ताकेता गरेको छ ।

कोषले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा भुक्तानी गर्नुपर्ने किस्ता रकम असोज मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

विभिन्न मितिमा घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी तथा जग्गा खरिद सापटी लिएका ऋणी सञ्चयकर्ताले तोकिएको अवधिभित्र किस्ता भुक्तानी गर्नुपर्ने कोषले जनाएको छ ।

नियमित रूपमा त्रैमासिक किस्ता भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई कोषले त्रैमासिक ब्याजमा ०.२५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको जनाएको छ ।

कर्जा किस्ता नियमित नगरेको अवस्थामा कर्मचारी सञ्चय कोष सञ्चयकर्ता कर्जा असुली विनियमावली, २०७१ बमोजिम असुली प्रक्रिया अघि बढाइने कोषले चेतावनी दिएको छ ।

कोषले किस्ता भुक्तानीका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ । केवाईसी अद्यावधिक गरेका सञ्चयकर्ताले कोषको विद्युतीय प्रणालीमार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

कनेक्ट आईपीएसमा लगइन गरी ‘सेमी–गभर्मेन्ट’ अन्तर्गत ‘संस्थान’ छनोट गरेर रकम भुक्तानी गर्न सकिनेछ । त्यस्तै, मोबाइलमा कोषको ईपीएफ एप डाउनलोड गरी त्यसमा रहेको ‘लोन पेमेन्ट’ विकल्पमार्फत पनि किस्ता बुझाउन सकिने कोषले जनाएको छ ।

सञ्चयकर्ताले आफ्नो बैंकको बैंकिङ एपमा रहेको भुक्तानी विकल्पमार्फत पेन्सन फन्डअन्तर्गत कर्मचारी सञ्चय कोष छनोट गरेर पनि रकम भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै, कोषको वेबसाइटमा रहेको व्यक्तिगत लगइनमार्फत ‘लोन पेमेन्ट’ विकल्प प्रयोग गरी किस्ता बुझाउन सकिनेछ । कोषले तोकेका बैंक खातामा रकम जम्मा गरी सोको भौचर इमेलमार्फत पठाएर पनि भुक्तानी प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ ।

कोषले अवकाश भइसकेका तथा केवाईसी अद्यावधिक नगरेका सञ्चयकर्तालाई समेत तोकिएको प्रक्रियामार्फत सापटीको किस्ता भुक्तानी गर्न आग्रह गरेको छ । 

Share News