सर्वसाधारणको सुविधाका लागि कामना सेवाले राख्यो यात्रु प्रतिक्षा बेन्च

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा पाँच वटा यात्रु प्रतिक्षा बेन्च स्थापना गरेको छ ।

बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा सर्वसाधारण तथा यात्रुहरूको सुविधा लक्षित गर्दै प्रतिक्षा बेन्च निर्माण तथा स्थापना गरेको जनाएको छ ।

प्रतिक्षा बेन्च स्थापना कार्यक्रम बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

बैंकका अनुसार दैनिक आवतजावत गर्ने यात्रु तथा स्थानीय बासिन्दालाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले सार्वजनिक स्थानमा प्रतिक्षा बेन्च राखिएको हो ।

कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको प्रत्यक्ष उपयोगमा आउने संरचना निर्माण गरेकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिँदै यसबाट स्थानीयवासी र यात्रु दुवैलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै समुदायको आवश्यकता अनुसार यस्ता सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले स्थानीय समुदायको हितमा यस्ता गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए ।

कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Share News