काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनअन्तर्गतको उच्चस्तरीय सप्ताहमा सहभागी हुँदै असोज ८ गते महासभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ मा न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले प्रेस नोट जारी गरेर जनाएको छ ।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय सप्ताहअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन असोज ४ मै न्युयोर्क प्रस्थान गर्ने भएका छन् ।
परराष्ट्रमन्त्री खनालले न्युयोर्कमा विभिन्न मुलुकका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । ती भेटवार्तामा नेपालका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यन्जनकर, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुने मन्त्रालयले जनाएको छ ।