युवा सांसदलाई रोजगारी सिर्जनामा उदाहरण बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी पुस्ताका सांसदहरूलाई नवीन सोचका साथ आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार (आज) जेन्जी पुस्ताका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले यस्तो आग्रह गरेका हुन् ।

जनजीविकाका आधारभूत समस्या समाधानमा केन्द्रित हुनुका साथै त्यसबाट एक कदम अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले स्थलगत अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिन, सूचना प्रविधिको उच्चतम प्रयोग गर्न, समस्या समाधानमुखी व्यवहार अपनाउन तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिए ।

उनले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न पनि सांसदहरूलाई आग्रह गरे । 

दीर्घकालीन रूपमा आत्मनिर्भर बन्दै अरूका लागि समेत प्रेरणाको स्रोत बन्नुपर्ने उनको भनाइ थियो ।

अन्तरक्रियामा सहभागी जेन्जी पुस्ताका सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share News