वैदेशिक रोजगारीमा गएका श्रमिकको विवरण बुझाउन निर्देशन

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको हक, हित र सुरक्षालाई ध्यानमा राख्दै वैदेशिक रोजगार विभागले इजाजतपत्र प्राप्त म्यानपावर संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ । विभागले श्रमिकको अवस्था सम्बन्धी नियमित विवरण तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा उपलब्ध गराउन म्यानपावर कम्पनीहरूलाई कडा निर्देशन दिएको हो । 

विभागका अनुसार इजाजतपत्र प्राप्त संस्थाहरूले प्रत्येक तीन–तीन महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको प्रगति विवरण बुझाउनुपर्ने साविककै व्यवस्था बमोजिम आगामी २०८३ असोज २१ गतेभित्र संस्था अनुगमन शाखामा उक्त विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।

यसैगरी, म्यानपावर कम्पनीहरूले आफूले उडान गराएका श्रमिकहरूको नियमित अनुगमन गरी तीन चरणमा विवरण संकलन तथा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार श्रमिक विदेश गएको १५ दिनभित्र निज सुरक्षित रूपमा सम्बन्धित गन्तव्य मुलुकमा पुगे वा नपुगेको सुनिश्चित गरी विवरण तयार गर्नुपर्नेछ । त्यसैगरी, श्रमिकले वैदेशिक रोजगार सम्झौता बमोजिमको कार्य, तोकिएको तलब तथा अन्य सेवा–सुविधा पाए वा नपाएको विषयमा प्रत्यक्ष सम्पर्क गरी वास्तविक अवस्थाको प्रतिवेदन तयार गर्नुपर्नेछ ।

कम्पनीहरूले संकलन गरेको श्रमिकको अवस्था सम्बन्धी यो सम्पूर्ण विवरण उडान भएको २० दिनभित्र अनिवार्य रूपमा वैदेशिक रोजगार विभागको संस्था अनुगमन शाखाको इमेल मार्फत पेस गरिसक्नुपर्नेछ । तोकिएको निर्देशन पालना नगर्ने वा श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजतपत्र प्राप्त संस्थाहरूमाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कानुनी कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।
 

Share News