काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले श्रीलंकाका करिब १५० जना प्रतिष्ठित पर्यटन व्यवसायी नेपाल आएका छन्।
रुप्से होलिडेजको पहल, समन्वय तथा व्यवस्थापनमा श्रीलंकाका दुई प्रमुख पर्यटन व्यवसायी संस्था ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका र अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट मान्यता प्राप्त एजेन्ट्स एसोसिएसन अफ श्रीलंकाको वार्षिक साधारणसभा नेपालमा आयोजना गरिएको हो।
दुसित प्रिन्सेस होटलमा भदौ १७ देखि २० गतेसम्म आयोजना भइरहेको कार्यक्रममा पहिलो संस्थाको ५१ औँ तथा दोस्रो संस्थाको ३८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। श्रीलंकाका पर्यटन व्यवसायीले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा वार्षिक साधारणसभा आयोजना गर्दै आएका छन्।
गत वर्ष दुवै संस्थाको वार्षिक साधारणसभा सिंगापुर–मलेसिया क्षेत्रमा सञ्चालन हुने समुद्री पर्यटकीय यात्रामा भएको थियो । यसअघि बेइजिङ, टोकियो, इस्तानबुल, बैंकक, जकार्ता, बाकु र मेलबर्नलगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा वार्षिक साधारणसभा आयोजना गरिसकेका यी संस्थाले यसपटक काठमाडौंलाई रोजेका हुन्।
श्रीलंकाका पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराउने र उनीहरूलाई नेपालको पर्यटनबारे प्रत्यक्ष अनुभव गराउने उद्देश्यले रुप्से होलिडेजले कार्यक्रमका लागि आवश्यक पहल, समन्वय र व्यवस्थापन गरेको हो।
नेपालको पर्यटन क्षेत्रमा देखिएका चुनौतीका बीच अन्तर्राष्ट्रिय बजारमा नेपालको वास्तविक अवस्था र सकारात्मक सन्देश पुर्याउनुपर्ने छ । रुप्से होलिडेजले यस कार्यक्रमलाई वार्षिक साधारणसभामा मात्र सीमित नराखी पर्यटनप्रतिको विश्वास बढाउने अभियानका रूपमा अघि बढाएको जनाएको छ।
कार्यक्रममा ‘नेपाल सुरक्षित छ, नेपालले पर्यटकलाई बोलाइरहेको छ’ भन्ने सन्देशलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। नेपाल पर्यटकका लागि सुरक्षित रहेको, विदेशी पर्यटकलाई स्वागत गर्न तयार रहेको र निर्धक्क भएर नेपाल भ्रमण गर्न सकिने सन्देश श्रीलंकाका पर्यटन व्यवसायीमार्फत त्यहाँको बजारसम्म पुर्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
नेपालका लागि श्रीलंकाका राजदूत, श्रीलंकाको राष्ट्रिय वायुसेवा कम्पनीका वाणिज्य निर्देशक, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे, महासचिव राजकुमार देवकोटा, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, श्रीलंकाको राष्ट्रिय वायुसेवाका नेपालस्थित सामान्य बिक्री प्रतिनिधि जय देवानलगायत नेपाल तथा श्रीलंकाका पर्यटन व्यवसायी सहभागी थिए।
रुप्से होलिडेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पराजुली नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका सचिवसमेत हुन्। पराजुलीले नेपालको पर्यटन क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला सरकार वा पर्यटन बोर्डको प्रयास मात्र पर्याप्त नहुने बताए । निजी क्षेत्रका पर्यटन व्यवसायीले समेत अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष रूपमा विश्वास निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ।
उनले करिब १५० जना श्रीलंकाली पर्यटन व्यवसायीलाई नेपाल ल्याउनुको उद्देश्य एउटा कार्यक्रम आयोजना गर्नुमा मात्र सीमित नभएको बताए।
'यी व्यवसायी आफ्ना बजारमा पर्यटकलाई विभिन्न गन्तव्य सिफारिस गर्ने व्यक्ति हुन्। उनीहरूले नेपालमा आएर यहाँको अवस्था प्रत्यक्ष रूपमा बुझेपछि आफ्ना ग्राहकलाई नेपालबारे वास्तविक जानकारी दिन सक्छन्। त्यसैले उनीहरूको नेपाल भ्रमण आफैंमा पर्यटन प्रवर्द्धनको एउटा माध्यम हो,' पराजुलीले भने।
श्रीलंकाका पर्यटन व्यवसायीको ठूलो समूहको नेपाल भ्रमणलाई नेपाल–श्रीलंका पर्यटन व्यवसायबीचको सम्बन्ध विस्तार गर्ने अवसरका रहेको पर्यटन व्यवसायी बताउँछन् ।