काठमाडौं । जग्गा बिक्री गर्ने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा रहेका एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३ घर भई बस्दै आएका ७० वर्षीय किरण वैद्य पक्राउ परेका हुन् ।
भक्तपुर जिल्लाको साविक ताथली गाविस–६ (हाल चाँगुनारायण नगरपालिका–२) स्थित कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गामा हकबन्दी कायम भई बिक्री–वितरण गर्न मिल्ने थिएन । बिक्री गर्ने भन्दै बैना कागज गरी उनले रकम लिएका थिए ।
उनले जग्गा बिक्री गर्ने भन्दै बैना बापत ५ करोड ४० लाख ९६ हजार ९ सय ४० रुपैयाँ लिई ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार पक्राउ अनुमति जारी भएपछि फरार रहेका वैद्यलाई काठमाडौं महानगरपालिका–१ नक्सालबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका वैद्यविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।