काठमाडौं । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट संकलन गरिएको रकम कोषमा जम्मा गरिएको संघले जनाएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा संघकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सहकोषाध्यक्ष पवन केसी तथा सदस्यहरू इन्द्र दोङ खम्बे, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र संगम राई लव्लीको उपस्थिति थियो । कार्यक्रममा चलचित्रकर्मी पुकार भट्टराई र लव प्याकुरेल पनि सहभागी थिए ।
अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताए ।
संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार संघको स्थापना नै सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै संघले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको बताए । कठिन परिस्थितिमा सरकारसँग एकताबद्ध हुँदै बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम संकलन गरिएको उनको भनाइ छ ।
संघका अनुसार भदौ २३ गते ‘जेन–जी शहीद दिवस’ तथा नेपाल चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रम र राहत सहयोगका क्रममा रकम संकलन गरिएको थियो । संकलित रकममध्ये बाढी प्रभावितका लागि छुट्याइएको सहयोग कोषमा हस्तान्तरण गरिएको संघले जनाएको छ ।