दैनिक १ हजार भाडा तिर्ने राइडर अब स्कुटरको मालिक बन्न सक्ने

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । राइड सेयरिङमा दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्म सवारी भाडा तिर्दै आएका राइडरलाई अब आफ्नै इलेक्ट्रिक स्कुटरको मालिक बन्न सक्ने योजना सार्वजनिक भएको छ ।

‘तपाईंको बजार’ र भेट्रा मोटर्स प्रालिको सहकार्यमा राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्दै राइडरलाई शून्य डाउनपेमेन्टमा स्कुटर उपलब्ध गराउने योजना सार्वजनिक गएिको हो ।

तपाईंको बजारका अनुसार राइडरले स्कुटरका लागि दैनिक आम्दानीबाट किस्ता तिर्दै क्रमशः सवारीसाधनको स्वामित्व हासिल गर्न सक्नेछन् । 

अहिले राइड सेयरिङका लागि विभिन्न कम्पनीले दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्ममा मोटरसाइकल तथा स्कुटर भाडामा उपलब्ध गराउँदै आएका छन् । सोही हाराहारीको रकमबाट राइडरलाई अन्ततः आफ्नै सवारीसाधनको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।

३ लाख ८० हजार रुपैयाँ मूल्य तोकिएको ‘भेट्रा एरोन’ विशेषगरी राइड सेयरिङ तथा राइड(हेलिङ व्यवसायलाई लक्षित गरिएको कम्पनीको भनाइ छ । कम्पनीले यस योजनामार्फत सुरुमा १ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्य राखेको छ ।

तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) माया लामाले ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहितको योजना दुई वर्षअघि नै सुरु गरिएको बताइन् । विभिन्न बाधा तथा अवरोधका कारण योजना अघि बढाउन नसकिए पनि अहिले बेस्ट फाइनान्स र याङ्गोको सहकार्यमा कार्यक्रम सुरु गर्न सफल भएको उनले बताइन् ।

लामाका अनुसार राइड सेयरिङ क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग बढाउँदै छुट्टै विद्युतीय राइडिङ इकोसिस्टम विकास गर्ने कम्पनीको योजना छ । नेपालभर अधिकृत डिलर नियुक्तिका लागि आवेदनसमेत खुला गरिएको उनले जानकारी दिइन् ।

कम्पनीका अनुसार ‘भेट्रा एरोन’ले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । नेपाली सडक तथा भूगोललाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाटको मोटर र १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

भेट्रा मोटर्सका निर्देशक मनिष श्रेष्ठले नेपाली सडकका उकाली–ओरालीलाई समेत ध्यानमा राखेर स्कुटर तयार गरिएको बताए । उनका अनुसार राइड सेयरिङ तथा राइड(हेलिङ व्यवसायका लागि स्कुटर उपयुक्त हुने गरी यसको डिजाइन तथा क्षमता निर्धारण गरिएको हो ।

राइडरलाई सहज रूपमा विद्युतीय स्कुटर उपलब्ध गराउने उद्देश्यले पानीपोखरीस्थित तपाईंको बजारको कार्यालयमार्फत शून्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसका लागि तपाईंको बजार र बेस्ट फाइनान्सबीच सहकार्य भएको छ ।

तपाईंको बजारका प्रबन्ध निर्देशक सुशिल सङ्ग्रौलाले कम्पनीले हाल नेपालभर इलेक्ट्रिक भ्यान तथा इलेक्ट्रिक बसमा वित्तीय सुविधा र बिक्री–वितरण गर्दै आएको बताए । राइड सेयरिङका लागि इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने योजना त्यसैको अर्को आयाम भएको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारसँगै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता पहलले योगदान पुर्याउने बताए ।

योजनामा सहभागी हुन राइडरले राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र र फोटो अनिवार्य रुपमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ । 

Share News