काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो-२०८३’ असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा आयोजित यो ४ दिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले दीप प्रज्वलन गरी गरे ।
उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख अर्यालले रियल स्टेट व्यवसायीहरूको हदबन्दी लगायतका समस्या समाधानमा सरकार प्रयासरत रहेको र आफूले पनि आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले साना व्यवसायी र दूरदराजका नागरिकका समस्या हल गर्दै वैदेशिक रोजगारीमा रहेका र युवा पुस्तालाई स्वदेशमै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले घरजग्गा व्यवसायलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै गैरआवासीय नेपालीलाई अपार्टमेन्ट बिक्री गर्ने कानुनी बाटो खोल्न र भृकुटीमण्डप प्रदर्शनी स्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सरकारसँग माग गरे ।
त्यसैगरी, समारोहका सभापति एवम् नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष ई. दीपक कुँवरले हदबन्दी र कित्ताकाटको दीर्घकालीन समाधान नभए व्यवसाय ठप्प हुने बताउँदै बाढीपीडितको पुनर्वासमा सहकार्य गर्न व्यवसायीहरू तयार रहेको स्पष्ट पारे ।
उनले पृथ्वी राजमार्गको विकल्पका रूपमा थानकोटदेखि शक्तिखोरसम्म निजी क्षेत्रको सहकार्यमा सुरुङ मार्ग निर्माण गर्न सकिने प्रस्ताव समेत अघि सारे ।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल कम्पनीहरूलाई हदबन्दी छुट, लोन टु भ्यालु रेसियो ८० प्रतिशत पु¥याउनुपर्ने, ३ करोडसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीलाई मान्यता दिनुपर्ने र यस क्षेत्रलाई उत्पादनमूलक उद्योगको दर्जा दिनुपर्ने जस्ता नीतिगत मागहरू प्रस्तुत गरे ।
आयोजना समितिका संयोजक रोशन भोयध्योका अनुसार १०० भन्दा बढी स्टलहरू रहेको यो एक्स्पो असोज ४ गतेसम्म बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
एक्स्पो अवधिभर वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार र सार्वजनिक-निजी साझेदारी मार्फत एकीकृत आवास विकास जस्ता विषयमा उच्चस्तरीय प्राविधिक सेमिनार तथा प्यानल छलफलहरू समेत सञ्चालन हुनेछन् ।