एसियन पेन्ट्स नेपालको पहिलो नेपाली प्रमुख बने बराल

काठमाडौं । एसियन पेन्ट्स नेपालले दीपक बराललाई नेपाल प्रमुखको जिम्मेवारी दिएको छ । उनी कम्पनीको नेपाल बजारको नेतृत्व गर्ने पहिलो नेपाली बनेका छन् ।

बरालले सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा काम सुरु गरेका थिए। त्यसयता उनले बिक्री, मार्केटिङ र सेल्स एक्टिभेसनलगायत विभिन्न विभागमा काम गर्दै नेतृत्व तहसम्मको यात्रा तय गरेका हुन् ।

यसअघि उनी सेल्स एन्ड मार्केटिङ प्रमुखको जिम्मेवारीमा थिए । अगस्ट २०२६ सम्म उक्त पदमा काम गरेका बराललाई अहिले कम्पनीको नेपाल बजारको समग्र नेतृत्वको जिम्मेवारी दिइएको हो ।

कम्पनीका अनुसार नेपाल बजारको नेतृत्वमा यसअघि विदेशी नागरिकलाई जिम्मेवारी दिइँदै आएको थियो। बराल भने यो जिम्मेवारी पाउने पहिलो नेपाली बनेका छन् ।

दुई दशकभन्दा लामो समय एउटै संस्थामा काम गर्दै विभिन्न जिम्मेवारी सम्हालेका बरालले बीचमा केही समय अन्य कम्पनीमा पनि उच्च व्यवस्थापन तहमा काम गरेका थिए । सन् २०२४ मा उनी पुनः एसियन पेन्ट्स नेपालमा सेल्स एन्ड मार्केटिङ प्रमुखका रूपमा फर्किएका थिए ।

फ्रन्टलाइन कर्मचारीबाट कम्पनीको शीर्ष नेतृत्वसम्म पुगेको बरालको यात्रा नेपाली कर्पोरेट क्षेत्रमा मेहनत र निरन्तरताको उदाहरणका रूपमा हेरिएको छ ।

Share News