चांगान निभो क्यू०५ लगातार पाँचौँ महिना चीनमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी

काठमाडौं । चांगान निभो क्यू०५ ले चीनमा आफ्नो बलियो बजार प्रदर्शनलाई निरन्तरता दिँदै सन् २०२६ को अगस्टमा पनि कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मोडलको स्थान कायम गरेको छ । योसँगै निभो क्यू०५ लगातार पाँच महिनादेखि आफ्नो सेग्मेन्टको शीर्ष स्थानमा रहन सफल भएको छ ।

केही साताअघि मात्रै नेपालमा सार्वजनिक गरिएको निभो क्यू०५ ले नाडा अटो शोमा ठूलो संख्यामा बुकिङ पाएको थियो । नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएसँगै यसको डेलिभरी पनि केही दिनभित्रै सुरु हुने कम्पनीले जनाएको छ ।

चीनको पछिल्लो खुद्रा बिक्री तथ्यांकअनुसार अगस्टमा निभो क्यू०५ का १७ हजार ३४९ युनिट बिक्री भएका छन् । अप्रिलदेखि अगस्ट २०२६ सम्म लगातार कम्प्याक्ट एसयूभी सेग्मेन्टको शीर्ष स्थानमा रहँदै आएको क्यू०५ को पाँच महिनाको कुल बिक्री ८६ हजार ८९६ युनिट पुगेको छ ।

क्यू०५ ले अप्रिलमा १५ हजार ८१४ युनिट बिक्री गर्दै पहिलोपटक सेग्मेन्टको शीर्ष स्थान हासिल गरेको थियो । मेमा १५ हजार ९५४, जुनमा १८ हजार ९०८ र जुलाईमा १८ हजार ८७१ युनिट बिक्री गरेको थियो । अगस्टमा बिक्री केही घटेर १७ हजार ३४९ युनिट पुगे पनि क्यू०५ ले आफ्नो अग्रता कायम राखेको छ ।

अगस्टको बिक्रीमा टोयोटा कोरोला क्रस १४ हजार ६७५ युनिटसहित दोस्रो स्थानमा रह्यो । जिली बोयुए एलले १४ हजार ३०२, टोयोटा आरएभी४ ले १४ हजार ६२, बीवाईडी सङ प्रो न्यू इनर्जीले १३ हजार ९५४ र जिली सिङयुए एलले १३ हजार २८७ युनिट बिक्री गरेका छन् ।

यसअनुसार अगस्टमा क्यू०५ ले दोस्रो स्थानमा रहेको टोयोटा कोरोला क्रसलाई २ हजार ६७४ युनिटले पछि पारेको छ ।

क्यू०५ को निरन्तर बिक्रीको मुख्य आधारमा यसको स्पेस, आराम, प्रविधि र मूल्यको संयोजनलाई लिइएको छ । २ हजार ७३५ मिलिमिटर ह्विलबेस रहेको यसमा फराकिलो क्याबिन, ढल्काउन मिल्ने पछाडिका सिट, व्यावहारिक लगेज क्षमता तथा विभिन्न भण्डारण सुविधा उपलब्ध छन् ।

त्यस्तै, सीएटीएल ब्याट्री सेल र ३सी फास्ट चार्जिङ प्रविधिले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने जनाइएको छ ।

आधुनिक डिजाइन, स्मार्ट सुविधा र प्रिमियम इन्टेरियरका कारण निभो क्यू०५ युवा तथा प्रविधिप्रेमी ग्राहकका लागि लक्षित मोडलका रूपमा प्रस्तुत गरिएको छ । चीनमा लगातार पाँच महिनासम्म कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शीर्ष स्थानमा रहनुले यसको बजार प्रदर्शनलाई थप बलियो बनाएको कम्पनीको दाबी छ ।

Share News