काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय युवा संसद् तथा विश्व युवा संसद्का संस्थापक अध्यक्ष दिवाकर अर्याललाई पार्टीको महासचिवमा नियुक्त गरेको छ ।
पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा आइतबार (भदौ २८ गते) बसेको सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त महासचिव अर्यालसहित उनको सम्पूर्ण टोलीलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमसमेत आयोजना गरिएको पार्टीले जनाएको छ । पार्टी अध्यक्ष घिसिङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अर्यालसहित टोलीका सदस्यलाई पार्टी प्रवेश गराउनुका साथै शपथ ग्रहण गराइनेछ ।
सोही अवसरमा विश्व युवा संसद्सँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ । कार्यक्रममा युवा नेतृत्व, समसामयिक विषय तथा युवाको राजनीतिक सहभागितालगायत विषयमा छलफल हुने बताइएको छ ।