प्रधानसेनापति सिग्देल चीन प्रस्थान, सैन्य सहकार्यबारे छलफल हुने

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल उत्तरी छिमेकी मित्रराष्ट्र चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आइतबार (आज) चीन प्रस्थान गरेका छन् ।

चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रतिनिधिमण्डलसहित उनी चीन प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति सिग्देलले आगामी आश्विन ३ गतेसम्म चीनमा विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा उनी १३औं बेइजिङ सियाङसान फोरममा सहभागी हुने कार्यक्रम छ । उक्त फोरममा विभिन्न मुलुकका उच्चस्तरीय सैन्य तथा सुरक्षा अधिकारीहरूको सहभागिता रहनेछ ।

प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा चिनियाँ जनमुक्ति सेनाका उच्च सैन्य अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । 

भेटवार्तामा नेपाल–चीन सैन्य सम्बन्ध, आपसी सहकार्य तथा दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतका अनुसार भेटवार्तामा नेपाल र चीनबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेण्डसिप’ लगायतका विषयमा पनि छलफल हुनेछ । 

संयुक्त अभ्यासलाई निरन्तरता दिने तथा दुई सेनाबीचको सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।
 

Share News