भवन पुनःस्थापना तथा पुनःनिर्माण गर्न ९५ अर्ब ८२ करोड आवश्यक पर्ने

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त निजी भवनको पुनःस्थापना तथा पुनःनिर्माणका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन’ (आरडीएनए) ले बाढीबाट पाँच जिल्लाका ७ हजार ५७० निजी भवनमा क्षति पुगेको जनाएको छ ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । रसुवागढीनजिक लेहन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टानसहितको हिमपहिरोबाट सिर्जित ‘डेब्रिस फ्लो’ भोटेकोसी नदीमा मिसिएपछि आएको बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो ।

प्रतिवेदनअनुसार बाढीबाट ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ मानिस विस्थापित भएका छन् । निजी भवनतर्फ सबैभन्दा बढी क्षति नुवाकोटमा भएको छ । त्यहाँ ३ हजार ९७७ निजी भवनमा क्षति पुगेको छ ।

त्यस्तै, रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० निजी भवनमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति नुवाकोटको विदुर नगरपालिकामा भएको छ । विदुरमा मात्रै ३ हजार २६ भवनमा क्षति पुगेको छ । त्यसपछि रसुवाको गोसाईंकुण्डमा १ हजार ४३ र धादिङको बेनिघाट रोराङ गाउँपालिकामा १ हजार ३७ भवन क्षतिग्रस्त भएका छन् ।

वडागत रूपमा भने नुवाकोटको किस्पाङ गाउँपालिकाका पाँचवटै वडा बढी प्रभावित भएका छन् । ती वडामा ६९६ भवनमा क्षति पुगेको छ । त्यसपछि रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा ५७१ र धादिङको बेनिघाट रोराङ–३ मा ५५३ भवनमा क्षति भएको प्रतिवेदनले जनाएको छ ।

तर, क्षतिग्रस्तमध्ये कुन भवन मर्मत गर्न मिल्ने, कुन पुनर्निर्माण गर्नुपर्ने र कुन जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने हो भन्ने यकिन हुन थप निरीक्षण तथा घरधुरी प्रमाणीकरण आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार निजी भवन तथा घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८ करोड ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यसमध्ये भवन संरचनातर्फ ३८ अर्ब ९३ करोड ३८ लाख र घरायसी सम्पत्तितर्फ २४ अर्ब ९५ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।

क्षतिग्रस्त निजी भवनको पुनःस्थापना तथा पुनःनिर्माणका लागि प्रारम्भिक र दीर्घकालीन दुवै काम समेटेर ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । 

यसअन्तर्गत भग्नावशेष हटाउने, अस्थायी आवास तथा खानेपानी र सरसफाइको व्यवस्था गर्ने, भवनको विस्तृत मूल्यांकन गर्ने, घर मर्मत तथा पुनःनिर्माण गर्ने र आवश्यक घरायसी सम्पत्ति पुनःस्थापना गर्ने काम समेटिएका छन् ।

यद्यपि भवनको वास्तविक क्षेत्रफल, संरचनाको अवस्था र घरायसी सम्पत्तिमा भएको वास्तविक क्षतिको थप विस्तृत अध्ययनपछि पुनर्निर्माण लागतमा परिवर्तन हुन सक्ने प्रतिवेदनले जनाएको छ ।

समग्रमा भोटेकोसी–त्रिशूली–नारायणी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको भौतिक क्षति तथा आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । 

उक्त क्षेत्रमा पुनःस्थापना, पुन:निर्माण तथा जोखिम न्यूनीकरणका लागि भने ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।

Share News