काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ ।
सोमबार (भदौ २९) गते परेको तीजका दिन ठूलो संख्यामा दर्शनार्थी आउने अपेक्षासहित पशुपति क्षेत्र विकास कोषले विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाएको हो ।
कोषका अनुसार दर्शनार्थीको सहज व्यवस्थापनका लागि मन्दिर बाहिर पाँचवटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठवटा लाइन सञ्चालन गरिनेछ ।
भीड व्यवस्थापन र दर्शनार्थीलाई व्यवस्थित रूपमा मन्दिर प्रवेश गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
तीजमा पशुपतिनाथको दर्शनका लागि महिला भक्तजनको संख्या उल्लेख्य हुने भएकाले महिला सुरक्षाकर्मीको समेत पर्याप्त परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षाकर्मीको संख्या बढाउन आग्रह गरिएको कोषले जनाएको छ ।
दर्शनार्थीको भीडसँगै सवारी साधनको चापसमेत बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि छुट्टै योजना बनाइएको छ ।
विशिष्ट व्यक्तिका सवारी साधन पार्किङका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।
अन्य निजी तथा सार्वजनिक सवारी साधनका लागि भने भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा तथा उमाकुण्ड पार्किङस्थल तोकिएको छ ।
तीजका दिन पशुपति क्षेत्रमा आउने भक्तजनको चापलाई ध्यानमा राख्दै कोषले दर्शनार्थीलाई निर्धारित मार्ग तथा पार्किङस्थल प्रयोग गर्न आग्रह गरेको छ ।
भीड व्यवस्थापन, सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई समन्वयात्मक रूपमा अघि बढाइने कोषले जनाएको छ ।