हरिवंशको टिप्पणी–करिब ५० वर्षदेखि बिग्रिँदै आएको काठमाडौं बल्ल सुधारिँदै छ

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिब ५० वर्षदेखि क्रमशः बिग्रिँदै आए पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही सकारात्मक काम भएको बताएका छन् ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंको मौलिक सम्पदा, संस्कृति र सांस्कृतिक पहिचान लुकेको उनको भनाइ थियो ।

आचार्यले काठमाडौंलाई देवताहरूको सहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि आफ्नो सम्पदा र सहरलाई देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्ने बताए ।

उनले केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाइ र सौन्दर्यका विषयमा तयार पारेको कार्यक्रम आफूले हेरेको पनि बताए । 

भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले काठमाडौंको प्रशंसा गरेको देख्दा नेपाली हुनुका नाताले आफूलाई गर्व लागेको उनको भनाइ थियो ।

‘करिब ५० वर्षअघिदेखि नै महानगर बिग्रिन सुरु भएको हो । अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ । तर पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा काम भएका छन्,’ उनले भने ।

उनले काठमाडौंका विभिन्न स्थानमा निर्माण भएका फल्चालाई केवल बस्ने वा ओत लाग्ने ठाउँका रूपमा मात्र हेर्न नहुने बताए । ‘हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ,’ उनले भने ।

आचार्यले महानगरमा पछिल्लो समय भएका सकारात्मक कामलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सहरको सौन्दर्यमा थप ध्यान दिनुपर्नेमा जोड दिए ।

महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले सबै नागरिकलाई आफ्नो सहरप्रति जिम्मेवार बन्न आग्रहसमेत गरे ।

Share News