काठमाडौं । बाढीले बगाएर ल्याएको सुनका गरगहना फेला पारेर घरमा लुकाउने एक व्यक्ति पक्राउ परेका छन्। धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारका करिब ३५ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका हुन् ।
गत भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूली बजार निवासी लिला बहादुर बोगटीको घर बगाएको थियो। तामाङले भदौ ११ गते सुनसहितका गहना फेला पारेका थिए।
उनले गरगहना फेला पारेपछि सम्बन्धित व्यक्ति वा प्रहरीलाई कुनै जानकारी नगराई आफ्नो घरमा लगेर राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । पीडित बोगटीले अन्य व्यक्तिबाट उक्त विषयमा जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए।
भदौ २६ गते अस्थायी प्रहरी पोष्ट आदमघाट, धादिङबाट खटिएको प्रहरी टोलीले तामाङलाई सुनका गरगहनासहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका तामाङविरुद्ध चोरीसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय गजुरी, धादिङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विपद्का क्रममा बाढी तथा पहिरोले बगाएर ल्याएका वा फेला परेका सामान सम्बन्धित धनी, नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई जानकारी गराउनु पर्छ। त्यस्ता सामान लुकाउने वा आफूखुसी राख्ने कार्य कानुनी कारबाही हुन्छ ।
तामाङको घरबाट बरामद भएका गहनाहरू यी हुन्:
सुन जस्तो पहेलो धातुको बाला देखिने ३ तीन टुक्रा ।
सुन जस्तो पहेलो धातुको झुम्का २ दुई थान ।
सुन जस्तो पहेलो धातुको सिक्री २ दुई थान ।
सुन जस्तो पहेलो धातुको औठी २ दुई थान ।
रातो पोतेमा जडित सुन जस्तो पहेलो धातुको मंगलसुत्र २ दुई थान ।
चाँदी जस्तो देखिने सेतो धातुको पाउजु २ दुई जोर ।