काठमाडौं । शनिबार (आज भदौ २७ गते) काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गतका थापाथली र भृकुटीमण्डप फिडरमा विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणका अनुसार मर्मतसम्भार तथा भूमिगत केबलमा विद्युत् प्रवाह गर्ने कार्य गर्नुपर्ने भएकाले दुवै फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
प्राधिकरणका अनुसार थापाथली फिडरअन्तर्गत नर्भिक अस्पताल, प्रसूति गृह, प्रसूति गृह मार्ग, मार्टिन चौतारी क्षेत्र, कुरिया गाउँ, बबरमहल कर कार्यालय तथा आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
त्यस्तै, भृकुटीमण्डप फिडरअन्तर्गत पद्मोदय मोड हुँदै पुतलीसडक, कमलादी मोड, भृकुटीमण्डप, काठमाडौं महानगरपालिकाको कार्यालय, कृष्ण पाउरोटी, याक एन्ड यती, हात्तीसार, चिनियाँ दूतावास, मेरियट होटल, नारढुङ्गे, नन्दीरात्रि स्कुल, नारायणचौर तथा आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले तोकिएको समयअघि नै काम सम्पन्न भए विद्युत् सेवा सोहीअनुसार छिटो सुचारु गरिने जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।