काठमाडौं । भोटेकोशी बाढीबाट तीन जिल्लाका झण्डै ३३ हजार मानिस प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म बाढीमा परेर एक हजार ३८६ जनाको मृत्यु भएको छ ।
जसमध्ये १०४ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ । त्यस्तै, बाढीपछि पाँच हजार १३० जना सम्पर्कविहीन छन्। उनीहरूको खोज तथा उद्धार जारी रहेको छ ।
प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार, भोटेकोसी बाढीबाट तीन जिल्लाका आठ हजार ३१७ परिवार प्रभावित भएको उल्लेख छ ।
ती परिवारका ३२ हजार ९३६ जना प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट सात हजार ५७० निजी भवनमा क्षति पुगेको छ ।
सबैभन्दा बढी चार स्थानीय तह प्रभावित भएका छन् । जसमध्ये नुवाकोटको विदुर नगरपालिकाका तीन हजार ४५१, रसुवाको गोसाइँकुण्डका एक हजार १५६, धादिङको बेनीघाट रोराङका एक हजार १४९ र नुवाकोटको किस्याङका ७२१ परिवार रहेका छन् ।
बाढीबाट १३ जलविद्युत् आयोजना, ६८ झोलुंगे पुल, ३७ मोटरेबल पुल, ६९ किलोमिटर सडक र ४४३ किलोमिटर खानेपानीको पाइपलाइनमा क्षति पुगेको प्राधिकरणको तथ्यांक छ ।
यसैगरी, चार हजार आठ सय व्यवसायीक प्रतिष्ठान, १७ बैंक शाखा, एक हजार ८०६ हेक्टरमा लगाएको बाली र ६९७ हेक्टर सिञ्चित कृषि नोक्सान भएको छ ।
यससँगै ४८ वटा सार्वजनिक भवन, ३० वटा सम्पदा स्थल, १९ वटा विद्यालय र सात वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा ९७.२२ प्रतिशत जीविकोपार्जनमा प्रभाव परेको प्रारम्भिक आकलन रहेको छ ।
भोटेकोशी बाढीले सबै क्षेत्रमा गरेर चार खर्ब आठ अर्ब बराबरको क्षति पुगेको छ । अहिले प्रभावित क्षेत्रमा तत्कालका लागि आठ अर्ब ७३ करोड रुपैयाँ लाग्ने आकलन छ ।
दीर्घकालीन रुपमा पुनस्र्थापनाका लागि सात खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणको आकलन प्रारम्भिक छ ।