बाढीपीडितका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दियो पौने ९२ लाख सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ९१ लाख ८४ हजार ६ सय ९५ रुपैयाँ सहयोग गरेको छ ।

महासंघले विपद्को समयमा राज्यले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा आफ्नो तर्फबाट सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । 

महासंघले संकलन तथा व्यवस्थापन गरेको सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई हस्तान्तरण गरिएको हो ।

महासंघका अध्यक्ष सरोज सिटौलासहितका पदाधिकारीहरूले मन्त्री लम्साललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ ।

विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण सर्वसाधारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धारका लागि आवश्यक स्रोत जुटाउन सहयोग गरिएको महासंघको भनाइ छ ।

विपद्का कारण यातायात व्यवसायी तथा व्यवसायसँग आबद्ध श्रमिकहरूले समेत विभिन्न समस्या र क्षति व्यहोर्नुपरेको अवस्थामा महासंघले पीडित नागरिकको सहयोगलाई प्राथमिकता दिएको हो ।

महासंघले विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवासलगायतका राहत उपलब्ध गराउन राज्यको प्रयाससँगै निजी क्षेत्र र विभिन्न संघसंस्थाको समेत सहकार्य आवश्यक रहेको जनाएको छ ।

बाढी प्रभावित नागरिकको जीवन सहज बनाउन राज्यका निकायले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा सबै क्षेत्रबाट सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिँदै महासंघले आगामी दिनमा पनि आवश्यक सहयोगका लागि आफूहरू तयार रहेको जनाएको छ ।

महासंघले उपलब्ध गराएको उक्त रकम विपद् प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा उपयोग हुने र संकटमा परेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

Share News