लक्ष्मी हुन्डाईका दुई प्राविधिक अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान

काठमाडौं । प्राविधिक सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक शुक्रबार दक्षिण कोरिया प्रस्थान गरेका छन् । 

उनीहरूले दक्षिण कोरियास्थित हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमी अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिसम्बन्धी उच्चस्तरीय प्रशिक्षण लिनेछन् ।

प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा मात्र चार महिनामा पूरा भएको हो । ​​​​​​

यसअवधिमा उनीहरूले कक्षाकोठाको सिद्धान्तलाई व्यावहारिक कार्यस्थलमा उतार्दै सवारीसाधनको सर्भिसिङ, डायग्नोस्टिक र मर्मतसम्भारमा दक्षता हासिल गरेका थिए । 

अप्रेन्टिससिप सफलतापूर्वक पूरा गरेपछि लक्ष्मी हुन्डाईले उनीहरूलाई आफ्नै संस्थामा स्थायी रोजगारीको अवसर प्रदान गरेको हो ।

लक्ष्मी हुन्डाईले सिटीभिटी अन्तर्गतका पोलिटेक्निक संस्थाहरूमा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीहरूलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर उपलब्ध गराउँदै आएको छ । 

यस पहलमार्फत विद्यार्थीहरूले प्राविधिक ज्ञानका साथै कार्यस्थल अनुशासन, समस्या समाधान र व्यावसायिक सीप सिक्ने मौका पाउँछन् । 

अन्तर्राष्ट्रिय प्रशिक्षणबाट फर्केपछि प्राविधिकहरूले प्राप्त गरेको ज्ञान र अनुभव नेपालकै अटोमोबाइल क्षेत्रमा प्रयोग गर्ने कम्पनीको विश्वास छ । 

केवल “सीप सिकेर वैदेशिक रोजगारीमा जाने“ परम्परालाई परिमार्जन गर्दै “विश्वस्तरीय सीप सिकेर नेपालमै उज्यालो भविष्य र करियर बनाउने“ वातावरण निर्माण गर्नु नै यस पहलको मुख्य उद्देश्य रहेको छ ।

Share News