अर्थमन्त्री समक्ष हस्तान्तरण भएको सहयोग २ अर्ब ७३ करोड नाघ्यो

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष २ अर्ब ७३ करोड ४६ लाख ३० हजार ६ सय ३४ र १२ लाख १५ हजार ६ सय ५४ अमेरिकी डलर सहयोग हस्तान्तरण भएको छ । उक्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

हस्तान्तरण भएको सहयोगमध्ये ४५० संस्थागत निकायबाट २ अर्ब ६५ करोड ७४ लाख ७४ हजार ५ सय ९८ (९७.२ प्रतिशत) र ४० व्यक्तिबाट ७ करोड ७१ लाख ५६ हजार ३६ (२.८ प्रतिशत) प्राप्त भएको छ । 

कुल रकमको ७८.५ प्रतिशत चेकमार्फत र बाँकी नगद, भौचर तथा अनलाइन माध्यमबाट प्राप्त भएको हो । सबैभन्दा बढी सहयोग भदौ १५ गते ८५ संस्था तथा व्यक्तिबाट ५९ करोड ८७ लाख हस्तान्तरण भएको थियो । 

भदौ २६ गते मात्र २२ संस्था तथा व्यक्तिबाट ३० करोड ३२ लाख २८ हजार ७ सय १६ र १० लाख अमेरिकी डलर हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त प्रत्येक रकम-सहयोग गर्ने निकाय वा व्यक्ति, प्राप्तिको माध्यम, मिति र सो रकमको उपयोगसम्बन्धी नेपाल सरकारको निर्णय मन्त्रालयको आधिकारिक पोर्टल  mofnepal.github.io/rasuwa-flood-update मा दैनिक रूपमा अद्यावधिक गरी सार्वजनिक गरिएको छ ।

विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिप्रति अर्थमन्त्रालयले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । 

सहयोग गर्न चाहने सबैलाई नेपाल सरकारको आधिकारिक भुक्तानी पोर्टल donate.gov.np मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अनुरोध गरिएको छ । 

Share News