काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहतका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन् ।
बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थ मन्त्रालय पुगेर उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरे ।
विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको बैंकले जनाएको छ ।
यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत उपलब्ध गराएको थियो ।
त्यसैगरी, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको जनाएको छ ।
प्रभु बैंकले प्राकृतिक विपदमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।
बैंकले विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।