काठमाडौं । अबदेखि नेपाली नागरिकको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण (भ्रमण विवरण) अब नागरिक एपमार्फतै उपलब्ध हुने भएको छ ।
अध्यागमन विभागले यस्तो व्यवस्था गरेको हो ।
विभागबाट प्रदान हुने सेवालाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
यससँगै अब विदेश भ्रमणको विवरण लिन नेपाली नागरिकले अध्यागमन विभागमा भौतिक रूपमा उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता हटेको छ ।
यसअघि विभिन्न संघ–संस्था तथा व्यक्तिले अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण लिन विभागमै भौतिक रूपमा निवेदन दिनुपर्ने अवस्था थियो । त्यसकारण विवरण प्राप्त गर्न समय लाग्ने, विभागको कार्यबोझ बढ्ने तथा सेवाग्राहीले प्रक्रियागत झन्झट बेहोर्नुपर्ने अवस्था रहेको विभागले जनाएको छ ।
अब सेवाग्राहीले आफ्नो स्मार्टफोनमा रहेको नागरिक एपमार्फत सहजै भ्रमण विवरण हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । त्यसका लागि नागरिक एपमा रहेको ‘अध्यागमन’ शीर्षकमा प्रवेश गरी ‘भ्रमण विवरण’विकल्पमा जानुपर्नेछ ।
नागरिक एपमा लिंक गरिएको राहदानीका आधारमा सम्बन्धित व्यक्तिको विदेश भ्रमणसम्बन्धी आगमन तथा प्रस्थान विवरण प्राप्त गर्न सकिने विभागले जनाएको छ । लिंक गरिएको राहदानीको विवरण मात्र उपलब्ध हुने भएकाले व्यक्तिगत विवरणको सुरक्षासमेत कायम रहने विभागले जनाएकाे छ ।
नयाँ व्यवस्थाबाट सेवाग्राहीको समय र लागत बचत हुनुका साथै अध्यागमन सेवा प्रवाह थप सहज र प्रभावकारी हुने विभागले विश्वाससमेत व्यक्त गरेको छ ।
विभागका अनुसार यात्रा विवरण माग गर्ने व्यक्ति तथा संस्थाले नागरिक एपबाट प्राप्त गरेको विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सकिनेछ ।