रसुवाको अवरुद्ध सडक खुलाउन कृष्णभीरमा १० उपकरण परिचालन

काठमाडौं । रसुवामा बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन कृष्णभीरमा सडक निर्माण तथा सुधारको काम तीव्र पारिएको छ । 

सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले आठौं दिन पनि निरन्तर काम भइरहेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)ले जनाएको छ ।

कृष्णभीरमा ग्रेड कटिङ, स्लोप मिलाउने तथा पहुँच सडक तयार गर्ने कामका लागि करिब १५ जना प्राविधिकको सुपरिवेक्षणमा १० वटा मेशिन तथा उपकरण परिचालन गरिएको छ । 

उक्त काम दैनिक १४ घण्टासम्म निरन्तर भइरहेको योजनाले जनाएको छ ।

सवारी आवागमनलाई सहज बनाउन सडकको ग्रेडियन्ट प्राविधिक दृष्टिकोणले सीमित राख्ने गरी काम भइरहेको छ । 

सडकको यो चरणको काम सम्पन्न भएपछि नाली निर्माण, सब–सर्फेस ड्रेनेज तथा स्लोप प्रोटेक्सनको काम अघि बढाइनेछ ।

राजधानीको आपूर्ति व्यवस्थालाई सन्तुलित र सहज राख्न विशेषगरी ग्यास बुलेट, मालवाहक सवारीसाधन, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई यथासक्य चाँडो आवागमनको व्यवस्था मिलाउने गरी काम भइरहेको योजनाले जनाएको छ ।

सम्भव भएसम्म भदौ महिनाको अन्त्यसम्म अत्यावश्यक सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था तयार गर्ने लक्ष्यसहित निर्माण कार्यलाई निरन्तरता दिइएको जनाइएको छ ।

Share News