१९ लाख ४८ हजारको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालतमा

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालत, काठमाडौंले गरेको फैसलामा चित्त नबुझेपछि अख्तियारले भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

अख्तियारका अनुसार नरहरिनाथ गाउँपालिका–७ स्थित ओगडेनी सिरुपाटादेखि उच्छव आडिखोलासम्म सिंचाइ कुलो निर्माण योजनामा वास्तविकभन्दा बढी काम भएको देखाई नापी किताबमा परिमाण बढाएर रकम भुक्तानी लिने–दिने गरी भ्रष्टाचार भएको थियो ।

उक्त कसुरमा अख्तियारले दुर्गालाल न्यौपानेसमेतका प्रतिवादीविरुद्ध १९ लाख ४८ हजार ४८८ रुपैयाँ १४ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

साथै नापी किताबमा गलत विवरण उल्लेख गरेको कसुरमा समेत भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायको मागदाबी गरिएको थियो ।

तर विशेष अदालतले २०८२ फागुन २५ गतेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ ।

Share News