ललितपुर । ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याएको छ ।
उक्त पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरे । उक्त पुस्तकालय ललितपुर महानगरको नयाँ भवन ब्लक बी को चौथो तल्लामा रहेको छ । २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो ।
पुस्तकालय उद्घाटनपछि संस्कृति शिरोमणि जोशीले शारदा पुस्तकालयलाई जीवन्तता दिएकोमा ललितपुर महानगरलाई धन्यवाद दिए । उनले भने, ‘महानगरका प्रमुख, उपप्रमुख र महानगरको सम्पूर्ण परिवारलाई शारदा पुस्तकालय संचालन गरेकोमा धन्यवाद छ ।’ शारदाको अर्थ आमा भएको बताउँदै उक्त पुस्तकालयको उद्घाटन गर्न पाउँदाको क्षण जीवनको महत्वपूर्ण क्षण भएको बताए । उनले भने, ‘आज मेरो आमाको पुण्यतिथि हो, यो दिनमा पुस्तकालय उद्घाटन गर्न पाउँदा निकै आनन्दको अनुभव गरेको छु । ’
पुस्तकालय यसअघि कालकोठरीमा रहेको बताउँदै महानगरले पुस्तकालयलाई उच्च स्थान दिएकोमा महानगरलाई धन्यवाद दिए । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कुनै शहरको लागि सिटी लाइब्रेरी र सिटी हल अपरिहार्य हुने भएकाले महानगरले यसलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘ सिटी हलको पनि व्यवस्था ग¥यौं , नयाँ भवनमा सिटी लाइब्रेरी संचालनमा ल्याएका छौं ।’
पुन : स्थापित शारदा पुस्तकालय संचालनको सम्बन्धमा महानगर संवेदनशील भएको बताए । पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउने लेखक तथा प्रकाशक मिरसुब्बा नारायण प्रसाद श्रेष्ठ र शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीलाई धन्यवाद दिए । सत्यमोहन जोशीले शारदा पुस्तकालय पुन स्थापित गर्न आफूलाई पटक पटक पे्रेरित गरेको नगरप्रमुख महर्जनले स्मरण गरे ।
२०४६ सालको जनआन्दोलनको बेलामा बिउ समेत नरहने गरी पुस्तकालय मासिएको बताए । नगर प्रमुख महर्जनले महानगरले कला, साहित्य र संस्कृति संरक्षणका लागि गरेका कामका बारेमा जानकारी गराए ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको महत्व बुझाउन ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन : स्थापित गरेको बताइन् ।
पुस्तकालयको पुनःस्थापना सजिलो नभएको बताउँदै सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिइन् । पुस्तक ज्ञानको प्रारम्भिक स्रोत भएको बताउँदै पुस्तकालयको महत्वलाई बुझाउन अत्यावश्यक भएको प्रष्ट पारिन् । लेखक तथा प्रकाशक मिर सुब्बा नारायण प्रसाद श्रेष्ठले विश्व प्रसिद्ध कलाकार अरनिको जन्माउने ललितपुर विश्वकै उत्कृष्ट शहर भएको प्रष्ट पारे । शारदा पुस्तकालयको पुनःस्थापना गरेर महानगरले आफ्नो गरिमा बढाएको बताए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी,नेपाल राष्ट्रिय पुस्तकालय,मदन पुस्तकालयलाई पुस्तकालय पुनःस्थापना गर्नका लागि गरेको सहयोगप्रति नगरप्रमुखले आभार प्रकट गरे ।