काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या देखिँदैमा व्यवसायीलाई पक्राउ गरेर थुन्न नहुने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शीर्ष उद्योगी–व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीको व्यावसायिक सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता जनाएको सांसद तथा व्यवसायी विदुषी राणाले जानकारी दिइन् ।
अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा छलफल गर्न आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै दुई घण्टा चलेको थियो ।
प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी थिए ।
भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी राणाले गरेकी थिइन् ।
छलफलका क्रममा व्यवसायीहरूले राज्यका अनुसन्धान निकायबाट हुने अनावश्यक धरपकड तथा कानुनी त्रासका कारण निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेका थिए ।
त्यसक्रममा प्रधानमन्त्रीले नीतिगत वा प्रणालीगत कमजोरीलाई फौजदारी कसुरका रूपमा हेरेर व्यवसायीलाई थुन्नेभन्दा वित्तीय जरिवानामार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखेको राणाले बताइन् ।
‘व्यवसायीहरूलाई झ्याप्प समात्ने र थुन्ने गर्दा बजारमा नकारात्मक सन्देश गएको छ । यसमा प्रधानमन्त्रीज्यूले एकदम प्रस्ट भन्नुभएको छ– देशद्रोह वा ठूलै बदमासी गरेको अवस्थामा बाहेक नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या आएको हो भने व्यवसायीलाई थुन्ने होइन, बरु वित्तीय जरिवाना तिराएर काम गर्न दिनुपर्छ,’ राणाले भनिन् ।
छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई लगानी विस्तारका लागि आवश्यक वातावरण र पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
दुर्गम क्षेत्रमा समेत निजी क्षेत्रको लगानी आकर्षित गर्ने गरी प्रधानमन्त्रीले विशेष प्रस्ताव अघि सारेको राणाले बताइन् ।
उनका अनुसार सरकारले आधारभूत पूर्वाधारको सुनिश्चितता गरे निजी क्षेत्रलाई डोल्पा, मुगु र राराजस्ता विकट क्षेत्रमा समेत लगानी गर्न प्रोत्साहित गर्न सकिने विषयमा छलफल भएको थियो ।
समग्रमा निजी क्षेत्रको मनोबल बढाउने, लगानी विस्तार गर्ने र नीतिगत सुधारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा प्रधानमन्त्री र उद्योगी–व्यवसायीबीच विस्तृत छलफल भएको थियो ।