सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा 'ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४' कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । साथै, बैंकको केन्द्रीय कार्यालय र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया भएको थियो ।

मधेश प्रदेशका ८ जिल्लामा बैंकका २९ शाखा सञ्चालनमा छन् । यसअघि बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरिसकेको छ । सोही क्रममा मधेश प्रदेशमा पनि रणनीतिक कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले पछिल्लो समय डिजिटल तथा ग्राहक केन्द्रित विभिन्न सेवा पनि विस्तार गर्दै आएको जनाएको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिलाई लक्षित ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

यसैगरी, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

Share News