काठमाडौं । चितवनमा गुड्दागुड्दैको ईभी कारमा आगलागी भएर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । भरतपुर महानगरपालिका १२ बस्ने अन्दाजी ५६ वर्षीय अमर पराजुली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।
उनका अनुसार गोर्खाबाट मृतकका दाइ आउँदै हुनुहुन्छ । उहाँका छोराछोरी विदेशमा हुनुहुन्छ भन्ने खबर प्राप्त भएको छ । उहाँको शव परिवारलाई केही समयमा जिम्मा लगाइन्छ ।
'गुडिरहेको ईभी कारमा आफैँ आगलागी भएको हो । सिट बेल्ट लगाएर गएको देखिन्छ,' उनले भने,' ग्यासोलिन कम्पनीको ईभी कार रहेको छ।'
आफैँ आगो लगाएर कार चलाउन नसकिने पौडेलको भनाइ छ । शुक्रबार भरतपुर महानगरपालिका - ९ बसन्तचोकस्थित पूर्व - पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो ।