बा समुद्रजस्तै, बा पहाडजस्तै

बा मलाई समुद्रजस्तै लाग्छन् । विशाल, गम्भीर र गहिरा । समुद्रलाई हेर्दा सतहमा देखिने छाल मात्र समुद्र होइन भन्ने थाहा हुन्छ । उसको वास्तविकता त गहिराइमा हुन्छ । सतहमा कहिले शान्ति छाउँछ, कहिले ठूलो हलचल । कहिलेकाहीँ आँधी आउँछ, समुद्र उर्लिन्छ, गर्जिन्छ । तर जति ठूलो आँधी आए पनि समुद्रको गहिराइले आफ्नो सन्तुलन गुमाउँदैन ।

बा पनि त्यस्तै लाग्छ मलाई ।

बाको जीवनमा पनि अनेकौं आँधी आए होलान् । बाले संघर्षका, अभावका, जिम्मेवारीका, सम्बन्धका र परिस्थितिका कैयौं आँधी भोगे होलान् । कतिपय मैले देखेँ, कतिपय उनले मबाट लुकाए । तर मैले देखेको बा प्रायः उस्तै रहे, शान्त, गम्भीर र आफ्नो जिम्मेवारीप्रति अडिग ।

पक्कै उनीभित्र पनि भावना थिए होलान् । रिस, पीडा, निराशा, थकान र दुःख सबै रहे होलान् । तर ती भावनाले उनको विवेकलाई कहिल्यै जित्न पाएनन् ।

सायद यही कारण मलाई बा समुद्रजस्तै लाग्छन् ।

वर्षायाममा पहाडबाट उर्लिएर आएका तुफानी नदीहरू समुद्रमा मिसिन्छन् । ती नदीहरू आफ्नै वेगमा दौडिन्छन्, गर्जिन्छन् । बाटोमा भेटिएका ढुंगा, माटो, बालुवा र रूखका हाँगा बोकेर आउँछन् । कतिपय नदी त यति उग्र हुन्छन् कि आफ्नो बाटोमा जे भेटिन्छ, त्यसलाई बगाएर लैजान्छन् ।

तर समुद्रले नदीको उफानलाई स्वीकार गर्छ, नदीसँग उफ्रिँदैन । नदी गर्जिन्छ, समुद्र आफ्नो गहिराइमा रहन्छ । नदी उर्लिन्छ, समुद्र आफ्नो विशालतामा स्थिर रहन्छ ।

बा पनि जीवनका अनेकौं तुफानसँग यसरी नै प्रस्तुत भए । परिस्थिति जति प्रतिकूल भए पनि उनले आफ्नो मर्यादा कहिल्यै बिर्सिएनन् । कोही रिसायो भन्दै उनले रिसको भाषा कहिल्यै बोलेनन् । कसैले अपमान गर्यो भन्दै उनले आफ्नो स्तर घटाएनन् । समस्या आयो भन्दै जिम्मेवारीबाट पन्छिएनन् ।

उनले हामीलाई सायद कुनै पाठ पढाएर भन्दा पनि आफ्नो जीवनबाट बढी सिकाएर गए । अरूको व्यवहारले आफ्नो चरित्र निर्धारण गर्न दिनु हुँदैन । यो कुरा मैले बाबाबाट सिकेको सबैभन्दा ठूलो पाठ हो ।

जीवनमा हरेक दिन हाम्रो मन अनुकूल हुँदैन । कहिले आफूले चाहेको कुरा हुँदैन । कहिले आफ्नै मानिसबाट चोट पाइन्छ । कहिले आफू सही हुँदाहुँदै पनि गलत बुझिन्छ । कहिले मेहनतको परिणाम आउँदैन । कहिले विश्वास गरेका मानिसले नै विश्वास तोड्छन् । यस्ता क्षणमा बल्ल मानिसको वास्तविक परीक्षा हुन्छ । बा यसै भन्थे ।

आँधी आउँदा समुद्रको सतहमा छाल उठ्नु स्वाभाविक हो । तर छाल उठ्दैमा समुद्रले आफ्नो गहिराइ गुमाउँदैन । बा पनि त्यस्तै थिए । उनलाई दुःख लाग्दैन भन्ने होइन । उनलाई रिस उठ्दैन भन्ने पनि होइन । उनलाई थकाइ लाग्दै लागेन भन्ने पनि होइन । तर उनले आफ्ना भावनालाई आफ्नो जिम्मेवारीमाथि हावी हुन कहिल्यै दिएनन् ।

सन्तानका लागि बा हुनुको अर्थ सायद यही हो, आफूभित्र जति ठूलो आँधी भए पनि सन्तानका अगाडि एउटा सुरक्षित किनाराजस्तो उभिनु ।

बाल्यकालमा हामीलाई बा कहिल्यै कमजोर हुँदैनन् जस्तो लाग्थ्यो । बा थाक्दैनन्, बा डराउँदैनन्, बा कहिल्यै निराश हुँदैनन्, बा भनेकै बलियो मानिस हो भन्ने लाग्थ्यो ।

तर उमेर बढ्दै जाँदा थाहा भयो, बा पनि आखिर हामीजस्तै मानिस थिए । उनलाई पनि पीडा हुन्थ्यो । उनलाई पनि डर लाग्थ्यो । उनका पनि आफ्ना रहर हुन्थे ।

उनलाई पनि कहिलेकाहीँ कसैले ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोधिदिओस् भन्ने लाग्थ्यो होला । तर उनले आफ्नो थकानभन्दा हाम्रो भविष्यलाई ठूलो बनाए ।

आफ्ना रहरभन्दा समाज र परिवारका आवश्यकता अगाडि राखे । सायद बाको महानता यही मौन त्यागमा लुकेको हुन्छ ।

समुद्रमा नदी मिसिएपछि नदीको पानी अलग्गै देखिँदैन । त्यो समुद्रकै हिस्सा बन्छ । हामी सन्तान पनि बाको जीवनमा त्यस्तै मिसिएका छौँ । हाम्रो दुःख बाको दुःख भयो । हाम्रो खुसी बाको खुसी भयो । हाम्रो असफलतामा बा चिन्तित भए । हाम्रो सफलतामा हामीभन्दा बढी खुसी बा भए ।

हामीले जीवनमा जति पाइला चाल्यौं, ती पाइलामुनि कतै न कतै बाको त्यागको माटो मिसिएको छ । तर बाले कहिल्यै त्यसको हिसाब राखेनन् । ‘मैले तिम्रा लागि यति गरेँ’ भनेर उनले जीवनभर हामीलाई सुनाएनन् । समुद्रले आफूमा कति नदी मिसिए भनेर हिसाब राख्दैन । बाले पनि आफ्ना त्यागको हिसाब राखेनन् । त्यसैले त उनी बा हुन् ।

तर समुद्रको अर्को विशेषता पनि मलाई बासँग जोडिएकोजस्तै लाग्छ । सुखायाममा नदीहरू सुक्छन् । तिनको बहाव घट्छ । पानीको मात्रा कम हुन्छ । कतिपय नदीहरू त नाम मात्रको धाराजस्ता देखिन्छन् । तर नदी सानो हुँदैमा समुद्र सानो हुँदैन ।

त्यस्तै बाले पनि कसैको उपस्थिति वा अनुपस्थितिले आफ्नो मूल्य नापेनन् । कसैले साथ दियो भनेर उनले मर्यादा नाघेनन् । कसैले साथ छोड्यो भनेर उनले आफ्नो अस्तित्व र गम्भीरता गुमाएनन् ।

बा कसैले प्रशंसा गर्यो भनेर उनी मात्तिएनन् । कसैले आलोचना गर्यो भनेर उनी भत्किएनन् । सायद मानिसको वास्तविक उचाइ यही हो, अरूले बनाएको धारणाले आफूलाई नबदल्नु ।

अनि कहिलेकाहीँ लाग्छ, बा समुद्र मात्र होइन, पहाड पनि हुन् । यदि समुद्र बाको गहिराइ हो भने पहाड उनको धैर्य । पहाडलाई हेर्दा अडिग हुनुको अर्थ बुझिन्छ । पहाडमाथि घाम लाग्छ । वर्षा हुन्छ । हुरी चल्छ । हिउँ पर्छ । पहिरो जान्छ । भूकम्प आउँछ । तर पहाड आफ्नो ठाउँ छोडेर कतै जाँदैन ।

मलाई लाग्छ, बा पनि त्यस्तै हुन् । जीवनले उनलाई धेरै ठक्कर दियो होला । हामीले देखेका भन्दा धेरै घाउ भए होलान् जीवनमा । कतिपय चोट हामीले थाहा पाएनौँ होला । कतिपय पीडा उनले कहिल्यै सुनाएनन् होला । तर उनी उभिइरहे ।

हरेक कठिनाइपछि । हरेक अभावपछि । हरेक निराशापछि । हरेक जिम्मेवारीको भारी बोकेर उनी ठडिइरहे ।

पहाडले आफ्नो उचाइ केवल आकाश छोएर बनाएको होइन । उसले असंख्य मौसम सहेर आफ्नो उचाइ बनाएको हो । बाको व्यक्तित्व पनि त्यस्तै हो जस्तो लाग्छ मलाई ।

उनको उचाइ उनले पाएको कुनै पद, प्रतिष्ठा वा सम्पत्तिले बनाएको होइन । उनले गरेका संघर्ष, जोगाएको मर्यादा, निभाएको जिम्मेवारी र सन्तानका लागि गरेको त्यागले बनाएको हो ।

आज फर्केर हेर्दा लाग्छ, बाले आफ्नो जीवनको धेरै हिस्सा हामीलाई अगाडि बढाउन खर्च गरे । उनले आफूलाई खुम्च्याएर हामीलाई फैलिन ठाउँ दिए ।

उनले आफ्ना धेरै सपना पछाडि सारेर हामीलाई सपना देख्न सिकाए ।

उनले आफ्ना पाइला थामेर हामीलाई दौडिन दिए । उनले आफूले भोगेका कठिनाइबाट हामीलाई जोगाउन खोजे ।

मलाई लाग्छ, संसारका सबै सन्तानका लागि बा कुनै न कुनै अर्थमा समुद्र र पहाड नै हुन् । समुद्र, जहाँ हाम्रा सबै दुःखहरू आएर मिसिन सक्छन् । पहाड, जसलाई हेरेर हामी कठिन बाटोमा पनि अघि बढ्ने साहस पाउँछौँ ।

बा हुनु भनेको सन्तानको जीवनमा केवल एउटा सम्बन्ध हुनु होइन रहेछ । बा हुनु भनेको एउटा छायाँ हुनु रहेछ । एउटा भरोसा । एउटा आधार । एउटा मौन शक्ति । एउटा यस्तो उपस्थिति, जसको अर्थ हामीले धेरै ढिलो बुझ्छौँ ।

र जब बुझ्छौँ, तब मनले एउटै कुरा भन्छ, बा समुद्रजस्तै गहिरा छन्, किनकि उनले हाम्रा सबै दुःख समेटे ।

बा पहाडजस्ता अडिग छन्, किनकि उनले जीवनका असंख्य ठक्कर सहेर पनि आफ्नो ठाउँ छोडेनन् ।

सायद बाको सबैभन्दा ठूलो परिचय यही हो, आफैभित्र हजारौं आँधी बोकेर पनि सन्तानका लागि शान्त समुद्र बनिरहे । र जीवनले जतिसुकै ठक्कर दिए पनि, हाम्रो भरोसाका लागि पहाडजस्तै उभिइरहे ।

सबै बाहरूलाई हार्दिक नमन !

Share News