प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थानेश्वर पौडेलले दिए २५ लाख २५ हजार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि २५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेका छन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको थियो । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पौडेलले भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले अघि सारेका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको पौडेलले बताए ।

उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई खुलेर सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

Share News