काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ७७ जना नेपाल विद्युत प्राधिकरणका कर्मचारीसहित २१२ जना राष्ट्रसेवक सम्पर्कविहीन भएका छन् । बाढीमा परी चार जना निजामती कर्मचारी र एक प्रहरीको निधन भएको छ ।
विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी र शिक्षकसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएका हुन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीबाट सरकारी कार्यालय, सुरक्षा संरचना, कर्मचारी आवास तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेकाले ती क्षेत्रमा कार्यरत कर्मचारीसमेत प्रभावित भएका छन् ।
सबैभन्दा धेरै विद्युत प्राधिकरणका
भोटेकोशी बाढीबाट सबैभन्दा बढी क्षति नेपाल विद्युत प्राधिकरण र मातहतका जलविद्युत आयोजनामा कार्यरत कर्मचारीमा परेको छ ।
प्राधिकरणको भगिनी कम्पनी त्रिशूली–३ बी की प्रमुख प्रशासक लीला अर्यालका अनुसार प्राधिकरणसँग सम्बन्धित विभिन्न आयोजनाका ७७ जना कर्मचारी सम्पर्कविहीन छन् ।
‘प्राधिकरणमा कार्यरत ठुलो जनशक्ति अहिले सम्पर्कविहिन अवस्थामा छ । प्राधिकरणमा ठेक्कामार्फत र इन्र्टनमा पनि थुप्रै कर्मचारी कार्यरत रहन्छन् । ती मध्येपनि धेरै हराइरहेका छन्,’ अर्यालले भनिन् ।
प्राधिकरणका अनुसार त्रिशूली–३ बीका २१ जना, चिलिमे जलविद्युत केन्द्रका ७ जना, त्रिशूली–३ एका ४५ जना, त्रिशूली जलविद्युत केन्द्रका १ जना, देवीघाट जलविद्युत केन्द्रका १ जना र रसुवा वितरण केन्द्रका २ जना कर्मचारी सम्पर्कविहीन छन् ।
सेनाका ४५, प्रहरीका ४० कर्मचारी सम्पर्कविहीन
बाढीमा नेपाली सेनाका ४५ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सम्पर्कविहीन हुनेमा अधिकृतदेखि सिपाही तहसम्मका सैनिक छन् ।
रसुवामा नेपाली सेना लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत आयोजनाको सुरक्षामा तैनाथ थियो । बाढी आएको समयमा ड्युटीमा रहेका तथा प्रभावित क्षेत्रमा रहेका सैनिकहरू सम्पर्कविहीन भएको सेनाले जनाएको छ ।
यस्तै, नेपाल प्रहरीका २७ जना र सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी पनि सम्पर्कविहीन छन् । नेपाल प्रहरीका एक जुनियर अधिकृतको निधन भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।
प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव फेला परिसकेको जिप्रकाले जानकारी दिएको छ । बाढीले रसुवाका विभिन्न प्रहरी कार्यालय तथा सुरक्षा चौकीमा क्षति पुर्याएपछि सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी भइरहेको छ ।
सशस्त्र प्रहरीका कर्मचारी सीमा सुरक्षा, उद्धार तथा विपद् व्यवस्थापनमा परिचालित थिए । तीमध्ये १३ जना अहिले सम्पर्कविहीन रहेका छन् ।
चार निजामती कर्मचारीको निधन
संघीय सरकारअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत ३६ जना निजामती कर्मचारी सम्पर्कविहीन रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार बाढीमा परी हालसम्म चार जना निजामती कर्मचारीको निधन भएको पुष्टि भएको छ ।
निधन हुनेमा अध्यागमन अधिकृत यादव भण्डारी, भन्सार अधिकृत नकुल सुवेदी, आईटी इन्जिनियर जनक आचार्य र क्वारेन्टाइन कार्यालयका खरिदार आयुष खड्का छन् । बाढी आउन लागेको सूचना दिन माइकिङ गरिरहेका आचार्य पनि बाढीमा परेका थिए । अधिकारीका अनुसार ३६ निजामती कर्मचारी हालसम्म सम्पर्कविहिन अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।
१४ शिक्षक पनि सम्पर्कविहीन
भोटेकोशी बाढीमा १४ जना शिक्षक पनि सम्पर्कविहीन भएको प्रारम्भिक विवरण रहेको छ । जिल्ला शिक्षा इकाई, नुवाकोटका अनुसार रसुवाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरू बाढी प्रभावित क्षेत्रमा परेका हुन् ।
बाढीले विद्यालय तथा शैक्षिक संरचनामा समेत क्षति पुर्याएपछि शिक्षक र विद्यार्थीको अवस्थाबारे स्थानीय तह तथा शिक्षा निकायले विवरण संकलन गरिरहेका छन् ।
रसुवाको टिमुरे, स्याफ्रुबेँसी र धुन्चे आसपासका क्षेत्रमा बाढीले सरकारी कार्यालय, सुरक्षा चौकी, कर्मचारी आवास र जलविद्युत आयोजनाका संरचनामा व्यापक क्षति पुर्याएको छ ।
राष्ट्रसेवक कर्मचारी ठूलो संख्यामा सम्पर्कविहीन भएपछि सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयले खोजी तथा उद्धारलाई प्राथमिकता दिएको विपद प्राधिकरणका प्रवक्ता महतले जानकारी दिइन् । उनका अनुसार खोजी जारी रहेकाले सम्पर्कविहीन कर्मचारीको संख्या थपघट हुन सक्नेछ ।
कुन निकायका कति राष्ट्रसेवक सम्पर्कविहीन ?
नेपाल विद्युत प्राधिकरण तथा मातहतका आयोजना- ७७
नेपाली सेना- ४५
संघीय सरकारका निजामती कर्मचारी- ३६
नेपाल प्रहरी- २७
शिक्षक- १४
सशस्त्र प्रहरी- १३
जम्मा- २१२
उपलब्ध विभिन्न सरकारी निकायका प्रारम्भिक विवरणका आधारमा संख्या तयार गरिएको हो । खोजी, उद्धार र पहिचानको काम जारी रहेकाले विवरण परिवर्तन हुन सक्नेछ ।