काठमाडौं । नुवाकोटबाट त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ।
हालसम्म गोकर्णेश्वरमा ८१ वटा शव व्यवस्थापन गरिएको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले विकासन्युजलाई जानकारी दिए ।
उनका अनुसार १३ जनाको शव पहिचान भएको छ । पहिचान भएकामध्ये तीन जना महिला र १० जना पुरुष रहेका छन् ।
अस्पतालमा शवको दुर्गन्ध फैलिएकाले छिटो–छिटो शव व्यवस्थापन गर्न लगिएको उनले बताए। दैनिक ३० वटा शव त्रिवि शिक्षण अस्पतालमा आउने गरेको उनको भनाइ छ ।
‘यहाँ ल्याइने शव नुवाकोटबाट आइरहेको छ,’ उनले भने, ‘हामीलाई नुवाकोटबाट ल्याइएको भनिन्छ। प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गर्ने गरिरहेका छौँ ।’
शवको डीएनए परीक्षण गरेर व्यवस्थापन गर्ने गरिएको सिंहले बताए । ‘शवका आफन्तहरूको पनि प्रहरी अस्पतालमा डीएनए परीक्षण गरेर नमुना संकलन गरिएको छ,’ उनले भने ।
गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखामा ठूलो धनजनको क्षति गरेको छ ।
