भोटेकोशीले उजाडेको बनिया परिवार, बाउ-छोरा अझै खोज्दैछन् आफ्नो संसार

बेत्रावतीले १४ वर्षदेखि पालेको जीवनको खुसी खोस्यो

काठमाडौं । ‘हाम्रो परिवार उजाडियो, सपना हरायो । न लास भेट्यौं, न उनीहरू बाँचेको कुनै खबर नै पायौं । आखिर हामीले त्यस्तो के गरेका थियौं ?’ त्रिवि शिक्षण अस्पतालको गेट अगाडि भेटिएका ५१ वर्षीय बुधनचा बनिया एकसुरले बोलिरहेका थिए  ।

जहाँ हराएका मानिसहरूको फोटो भित्तामा टाँसिएका छन् । आफन्त भेटिने आशामा परिवारहरू खोजीमा फोटोमा आँखा डुलाइरहेका छन्। टिमुरे, त्रिसुली र स्याफ्रुबेँसीबाट हराएका छन् भन्दै आवाज कानमा गुन्जिरहेको थियो । 

बनिया बोल्दै गर्दा उनका शब्दभन्दा आँखा बढी बोलिरहेका थिए । उनी श्रीमती र छोरीहरूको फोटोमा हेर्दै टोलाइरहेका थिए ।

null

बनियाको परिवार बेत्रावतीमा बसोबास गर्दै आएका थियाे । उनको परिवारबाट एकैपटक पाँच जना सदस्यलाई भोटेकोशीले बगाएपछि उनी अहिले छोरा राजा कुमार बनियासँगै आफ्ना प्रियजन परिवारको खोजीमा भौंतारिरहेका छन् ।

हिजोआज उनले अस्पतालको गेट र प्रहरीलाई सोधपुछ गर्दा दिन बितेको पत्तो पाउँदैनन् ।  उनको आँखा- मनले छोरी, श्रीमती र नातिनी खोजिरहेको छ ।

बाढीले भारत घर भएका बनियाका माल्तीदेवी बनिया, सन्ध्यादेवी बनिया, दिप्शिका कुमारी बनिया, रुपा कुमारी बनिया र आशा कुमारी बनियालाई बगाएको हो । बाढी आएको दिनदेखि नै बुधनचा र उनका २३ वर्षीय छोरा राजा कुमार कहिले नदी किनार, कहिले शव सङ्कलन केन्द्र र कहिले बाढीले क्षति पुर्याएका बस्तीमा भौँतारिरहेका छन् ।

‘खोज्दै हिँडेका छौं, तर भेटिएको छैन,’ बुधनचाले पीडाले भरिएको स्वरमा भने, ‘अब चितवनतिर पनि जान लागेका छौं । कतै केही चिनो पो भेटिन्छ कि ? ।’

नेपालमा बिस्तारै जीवनले लय समाउँदै गइरहेको उनलाई लागेको थियो । तर भोटेकोशीले नदीले जीवनको धार बदलिदियो ।

बास र परिवार बगाएपछि सबैथोक अन्धकार भएको जस्तो बनियालाई लागेको छ । जाने ठाउँ र बोलाउने मानिस हराएकाले केही सोच्न पनि नसकेको उनको भनाइ छ ।

null

हेलिकप्टरबाट बाँचेर फर्किए, परिवारलाई उतै छाडे

बाढीको त्रासदीबाट बनियाका बुबा–छोरा भने ज्यान जोगाउन सफल भए । उद्धारपछि उनीहरू हेलिकप्टरमार्फत त्रिशूलीसम्म आइपुगे। त्रिशुलीलाई छाडेर काठमाडौं आएका उनीहरू फोटो हेर्दै बिलौना सुनाउँदै हिँडिरहेका छन्।

राहत सामग्री पुर्याउन जाने गाडीमै फर्केका काठमाडौं फर्केका उनीहरू अहिले हराएका आफन्तको खोजीमा छन् । ज्यान बचे पनि उनीहरूलाई जीवन बाँचेको जस्तो अनुभूति छैन ।

‘हाम्रो कमाइ राम्रो थियो । जीवन राम्रैसँग चलिरहेको थियो,’ बुधनचाले अनुहार मलिन बनाएर भने, ‘चटपटेको काम गर्थ्यौं, कवाडी सङ्कलन गरेर बेच्थ्यौं । दुःख थियो, तर आफ्नो परिवारसँग भएका हामीसँग सब थियो । अहिले त सबै कुरा सकियो जस्तो लाग्छ ।’

बनिया परिवारको नेपाल आएको १४ वर्ष बितिसकेको थियो । बेत्रावतीको किनार र बजारमा साइकल घुमाए । पसिना बगाए, यहीँ परिवारको भविष्य खोजे । सानो–सानो कमाइबाट जीवनका लागि ऊर्जा बटुलिरहेका थिए ।

भोलिको सपनालाई सजाएर वर्तमानमा बाँचिरहेका थिए उनीहरू । केही क्षणको बाढीले वर्षौंदेखि जोड्दै आएको संसार र सपना बगाएर लग्यो ।

बुधनचाका लागि अहिले सबैभन्दा ठूलो पीडा मृत्यु हो । परिवार भेटिएनन्,  आफ्ना मान्छे कहाँ छन् भन्ने खबर उनका लागि अनिश्चितता बनेको छ ।

उनले न मृत परिवारलाई देख्न सकेका छन्, न कतै जीवितै रहेको आश्वासन पाउन सकेका छन् । उनीहरू शव खोज्ने यात्रमा नभइ एउटा परिवारको सपना खोजिरहेका छन् ।

‘हाम्रो दिमागले काम गर्न सकेको छैन,’ बुधनचा भन्छन्, ‘हामीले कसैको केही बिगारेका थिएनौं । हामीले त्यस्तो के गल्ती गरेका थियौं र यस्तो सजाय भोग्नुपर्यो ?’

उनको प्रश्नको जवाफ नदीसँग पनि छैन, बाढीले बगाएका ढुंगासँग पनि छैन । उनको मनसँग मात्र आशा छ ।

छेउमै रहेका २३ वर्षीय छोरा राजा पनि मौन छन् । उनी बाँच्न सफल भए ।  बाँकी पाँचजना हराएकाले उनीहरूको जीवनमा रित्तोपन मात्र छ । खालीपनले दुवै बाउछोरालाई छोएको छ ।

null

अब कसलाई सम्झेर बाँच्ने होला ?’ बुबाको कुरा सुनेर छेउमा उभिएका राजाको आँखा आँसु टिल्पिलाउन थाल्यो।

बुबा–छोरा अहिले पनि खोजीमा छन् । बुबा छोरा मात्र नभइ अहिले असल साथी बनेका छन् । उनीहरू शवको खोजीमा पाइला अघि बढाइरहेका छन् ।

चितवनतिर जाने तयारीमा रहेका उनीहरू परिवारको कुनै चिनो भेटिने आशा छन् । भोटेकोशीको उर्लंदो भेलले केवल घर र सम्पत्ति मात्र बगाएन । बुधनचाको एउटा पूरै संसार बगाएको छ। ‘हाम्रो परिवार उजाडियो, सपना हरायो,’ बुधनचा फेरि भन्छन्, ‘अब कसलाई सम्झेर बाँच्ने होला ?’

Share News