काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमसहित देशभर सुरु हुँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने तथा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न र द्रव्य दान गर्ने चलन छ । यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि मृत्यु भएका व्यक्तिहरूले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्ना घरमा मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि यो पर्व सुरु भएको ऐतिहासिक तथ्य पाइन्छ ।
गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत आयोजना गर्न आदेश दिइएको र त्यसै अनुरूप हास्य व्यङ्ग्यको प्रचलन सुरु भएको जनश्रुति छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रामा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म कायम छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक देखिन्छ ।
भाद्र कृष्ण अष्टमीसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूण रसका गीत गाउने गरिन्छ ।
विकृतिविरुद्ध हास्यव्यङ्ग्यको पर्व
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै वि.सं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा समेत प्रतिबन्ध लगाइएको थियो । वि.सं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा पुनः मनाउन थालेको हो ।
हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने तथा अनर्थकतामा सार्थकता झल्काउने काम गर्छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमुना तथा काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गतिलाई उजागर गर्ने गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विभिन्न कार्यक्रम आयोजना गरिन्छ । पत्रपत्रिकाले समेत सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशन गर्ने गरेका छन् ।
गाईजात्रा काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ ।
यस अवसरमा हास्य कलाकारले समेत विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन् । सरकारले गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।