रसुवाको बाढी प्रभावित चार सय बालबालिकालाई काठमाडौंमा राख्ने तयारी

सांकेतिक तस्विर

काठमाडौं । सरकारले रसुवाको बाढीबाट प्रभावित भएका ४ सय बालबालिकालाई काठमाडौंका बाल गृह तथा पुनःस्थापना केन्द्रमा राख्ने भएको छ । 

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले रसुवा र नुवाकोटका बाढीले प्रभावित बनाएको बालबालिकालाई काठमाडौंका बाल गृहमा राख्ने तयारी गरेको हो ।

मन्त्रालयले १७ हजार बालबालिका बाढीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने अनुमान गरेको छ । पूर्ण रुपमा जिल्लबाट प्रभावित बालबालिकाको तथ्यांक आइनसकेको राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव दुर्गा प्रसाद चालिसेले बताए ।

उनका अनुसार कति बालबालिका प्रभावित भए त्यसको विवरण आएको छैन । धेरै बालबालिका हराएको अनुमान गरिएको छ ।

‘हामीले चार सय बालबालिकालाई काठमाडौंका बाल सुधारगृहमा राख्ने गरेर तयारी गरेका छौ,’ उनले विकासन्युजसँग भने,’ ठूलो संख्यामा बालबालिका आएमा चितवनका बालसुधार गृहमा लान पनि सक्छौ। सबैभन्दा बढी बालबालिका रसुवा र नुवाकोटमा प्रभावित भएका छन् ।‘

बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने र उनीहरुको जीवनमा प्रत्यक्ष असर पर्ने चालिसेले बताए । बालबालिका अभिभावकविहिन हुँदा आफ्नो शारीरिक बनावटदेखि सामाजिक संरचनामासमेत प्रभाव पर्ने सक्ने देखिएको उनले प्रस्ट पारे ।

बालबालिकाको भविष्यप्रति हामी गम्भीर रहेको उनको भनाइ छ । बालबालिकाको मनोविज्ञानदेखि चौतर्फी विकास हुने गरेर संरक्षण दिने उनले बताए ।

उनका अनुसार काठमाडौंका ठाउँ खोजी भइरहेका छ । बालबालिका मैत्री वातावरणको खोजी गरिने छ । भौतिक संरचनादेखि आवश्यक वातावरणलाई हेरेर व्यवस्थापन गरिनेछ ।

एक-दुई दिनमा प्रभावित बालबालिकाको संख्या आइसक्ने चालिसेले बताए । हामीले बाढी प्रभावित जिल्लामा बालबालिकाको तथ्यांक माग गरिरहेको उनले उल्लेख गरे ।

ठूलो संख्यामा बालबालिका प्रभावित भएको हुन सक्ने अनुमान गरेको भए पनि विवरण नआएसम्म यसै भन्न नसकिने उनले बताए । चालिसेले बाढीबाट प्रभावित बालबालिकालाई अनाथगृहमा पनि राख्न सकिने बताए ।

अभिभावक गुमाएका बालबालिकालाई राज्यले संरक्षण गर्ने उनको भनाइ छ । ‘परिवारसँग मिलान हुनेलाई अभिभावकलाई जिम्मा लगाउनेछौ,’ उनले विकासन्युजसँग भने  ।

धेरै बालबालिकाहरू बाढी प्रभावित जिल्लाको विद्यालय तथा छिमेकीको घरमा शरण लिइरहेका छन् । सामाजिक सञ्जालमा घरबारविहिन भएका बालबालिकाहरूको भिडियो सार्वजनिक भइरहेका छन् । सरोकारवाला निकायले पनि सबैभन्दा धेरै बालबालिका प्रभावित हुने बताएका छन् ।

त्यसैगरी, प्रियंका चोपडा र गायन जेन मलिकले नेपालका १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता जरुरी रहेको बताएका छन् । केही दिनअघि यी दुई विश्वप्रसिद्ध स्टारले भोटेकोशी बाढीको तस्वीरसहितको सूचना पोस्ट गर्दै उक्त आह्वान गरेका थिए ।

बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति पुर्याएको छ । 
‘नेपालमा विनाशकारी बाढीबाट १० हजार बालबालिकालाई तत्काल मानवीयता सहायता जरुरी छ’ प्रियंका र जेनले राष्ट्रसंघीय बालकोष युनिसेफको सूचना सेयर गरेको सन्देशमा भनिएको छ ।

बुधबार रसुवा र नुवाकोटमा भएको जनधनको क्षति दर्शाउने फोटो पनि उनीहरू हालेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार हालसम्म ९ सय ३ जनाको शव फेला परेको छ । ४ हजार २४७ जना सम्पर्कविहिन भएका छन् ।

Share News