काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्रसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि अख्तियारले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मधेस प्रदेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने क्रममा खरिद प्रक्रियामा अनियमितता भएको थियो । ठेक्का नम्बर PPHL2/G/NCB/05/2078-79 मा कानुनविपरीत खरिद कार्य गरेको आरोपमा डा. मिश्रसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
उक्त मुद्दामा अख्तियारले ५ करोड १ लाख ९० हजार ८० रुपैयाँ बिगो कायम गरी सजायको माग गरेको थियो । साथै डा. मिश्रलाई थप सजायसमेत हुनुपर्ने माग अख्तियारको थियो ।
तर विशेष अदालत काठमाडौंले २०८२ फागुन १३ गतेको फैसलाबाट प्रतिवादीलाई आंशिक सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ १६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।