काठमाडौं । सचिव बढुवाका लागि एक नम्बरमा सिफारिस भएका वरिष्ठ सहसचिव श्रीकृष्ण नेपाल अनिवार्य अवकाशमा गएका छन् ।
सचिवमा बढुवाका लागि सोमबार बसेको बढुवा समितिले नेपाललाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । समितिले दोस्रो नम्बरमा नारायणप्रसाद भट्ट र तेस्रो नम्बरमा विनोद बहादुर कुँवरको नाम सिफारिस गरेको थियो ।
तर, सचिव बढुवाको अन्तिम निर्णय गर्ने मन्त्रिपरिषद्को बैठक सोमबार बस्न सकेन । मन्त्रिपरिषदबाट बढुवा निर्णय हुनुअघि नै नेपाल ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाशमा गएका हुन् ।
नेपाल सोमबार रातीदेखि नै निजामती सेवाबाट अवकाशमा गएका छन् । यससँगै नेपाल सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएर पनि सचिवको जिम्मेवारी सम्हाल्न नपाउने अभागी कर्मचारीको सूचीमा परेका छन् ।
निजामती सेवामा बढुवा समितिले सिफारिस गरेको क्रमअनुसार सचिवमा नियुक्ति हुने भए पनि मन्त्रिपरिषद्को निर्णय अनिवार्य हुन्छ । बढुवा समितिको सिफारिस र मन्त्रिपरिषद्को निर्णयबीचको यही समय अन्तरका कारण नेपालले सचिव बन्ने अवसर गुमाएका हुन् ।
२०२५ भदौ १६ गते पाल्पामा जन्मिएका नेपाल २०७१ सालमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए ।
अब रिक्त हुने सचिव पदमा बढुवा समितिले सिफारिस गरेका बाँकी उम्मेदवारमध्येबाट सरकारले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरीषदका एक उच्च अधिकारीले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयसँगै दोस्रो नम्बरमा सिफारिस भएका भट्ट र तेस्रो नम्बरमा रहेका कुँवरमध्ये कसलाई सचिवमा बढुवा गर्ने भन्ने विषयसमेत टुंगो लाग्ने ति अधिकारीले बताए ।