१५ हजार घुस प्रकरण : सशस्त्र प्रहरीका दुई कर्मचारीविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरीका दुई कर्मचारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

अख्तियारका अनुसार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।

आयोगले उनीहरूले १५ हजार रुपैयाँ घुस लिएको दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा घुस बराबरको जरिवाना हुनुपर्ने माग गरेको थियो ।

तर, विशेष अदालतले २०८२ फागुन २७ गतेको फैसलाबाट उनीहरूलाई आंशिक सफाइ दिएको थियो । उक्त फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो ।

Share News